एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मुर्ख हुन इन्कार गरेकोले नयाँ संविधान बनेको बताएका छन्। दाङको तुलसीपुरस्थित अरनीको मैदानमा थारू राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन्। ‘अहिले आन्दोलन गरिरहेका मधेशीदलहरुले संविधान बनाउन चाहेका थिएनन् तर मैले मुर्ख बन्न इन्कार गरेर संविधान बनेको हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले थपे, ‘मलाई पुरै दे नत्र मान्दैनौ भन्ने व्यक्ति मुर्ख हो, मैले त्यो मुर्ख हुन चाहिन। जति पाएको छ त्यसैमा बसेर लड्ने हो।’
मधेसीदलहरुको लागेको भए नेपालमा कहिलै संविधान नबन्ने उनको जिकिर थियो। उनले भने ‘मेरो प्रयासमा ११ प्रदेशमा सहमति भइसकेको थियो, त्यसमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको समेत व्यवस्था गरिएको थियो तर मधेसी दलहरुले नै उक्त सहमति भत्काएका थिए। सहमतिमा हस्ताक्षर गर्न मानेनन्।’
आज तीनै मान्छेहरुले संविधानको विरोध गरिरहेका छन्। पहाडीयाहरुलाई मधेसबाट लखेट भनिरहेका छन् , जसले हिजो पनि संविधान वनाउन चाहेकै थिएनन्। प्रचण्डले दुई वटा संशोधन गरिसकेको भएपनि नयाँ संविधानमा अहिले मधेश केन्द्रीत दलहरूलाई समेटेर तेस्रो संशोधनको तयारी भइरहेको बताए। संविधान गतिसिल भएकोले थारुका माग र मेधसीका असन्तुष्टि समेटेर संविधान संशोधन गरि सम्वृद्धि पार्दै लगिने उनले बताएका थिए। उनले भने ‘तपाईँ देश टुक्याउन पाउनु हुन्न तर यो बाहेक जनतालाई अनुमोदन गराएर संविधानमा सबैचिज परिवर्तन गर्न सक्ने व्यवस्था नयाँ संविधानले गरेको छ।’
यो गतिसिल संविधान भएकोले कुनै कुरापनि अपरिवर्तनीय नरहेको उनले बताए। यसअघिको संविधानले बहुदलीय व्यवस्थालाई अपरिर्वनीय धाराको रुपमा राखेको थियो , थारुलाई मधेशमा गाभेको थियो तर यो संविधानले थारुहरुको अलग पहिचान स्थापित गरेको अध्यक्ष प्रचण्डले बताए।
उनले भने ‘यो संविधानले केही दिएन भन्नु जनताको आँखामा छारो हाल्नु हो, फेरि राजामहाराजा फर्काउने षडेन्त्र हो।’