२०६३ असोज ५ गते बेलुका। ओखलढुंगा पुगेको साँझ मीना राईले ज्ञानेश्वरस्थित डेरामा फोन गरिन्। साइली छोरी रञ्जलीले फोन उठाएकी थिइन्।
‘बाबु तिम्रो खुट्टा ठिक भयो?,’ मीनाले सोधिन्।
‘यहाँ हुँदा चाहिँ मतलब भएन, उता गएपछि के सोधिराख्नुभएको?,’ रञ्जलीले आमामाथि थोरै आक्रोश पोखिन्।
आमासँग त्यही संवाद अन्तिम होला भन्ने भर्खर एसएलसी दिएर बसेकी रञ्जलीले सायदै सोचेकी थिइन्।
अनुहारको रङ परिवर्तन भयो। यो संवाद कोट्याउने क्रममा रञ्जलीले पीडा महसुस गरिन्। उनी कुराकानीकै क्रममा दिदीहरूलाई छोडेर अर्को कोठातिर गइन्।
‘यो संवादले बहिनीलाई ठूलो आघात पुग्नेगर्छ,’ जेठा भिनाजु दिलीप थापामगरले सुनाए।
रञ्जली कराँते सिक्न थालेको त्यस्तै एक वर्ष पुगेको थियो। कराँते ट्रेनिङका क्रममा खुट्टा हल्का मर्किएको रहेछ। मीनाले उनको खुट्टाबारे ओखलढुंगाबाट चासो राखेकी रहिछन्।
उनले त्यसैबेला भनेकी थिइन्, ‘हामी ताप्लेजुङ गएर फर्किन्छौं, अनि दसैं मनाउन जानुपर्छ है कटारी।’
पुख्र्यौली घर ओखलढुंगा मोली गाविस थियो, गोपाल राईको निर्वाचन क्षेत्र त्यतै। तर बाबु कूलबहादुर कटारी बस्ने गरेका कारण राई परिवार कटारी नै बस्थ्यो।
***
तत्कालीन वन राज्यमन्त्री गोपाल राई असोज ३ गते काठमाडौंबाट ओखलढुंगा जहाजमा गएका थिए। ओखलढुंगामा पनि कार्यक्रम रहेछ। राई ओखलढुंगा गएको दुई दिनपछि घरमा फोन आएको थियो।
मीनाले फोन उठाएकी थिइन्। श्रीमती मीना र गोपालबीच के संवाद भयो परिवारलाई पनि विस्तृतमा चाहिँ थाहा भएन। यत्ति थाहा छ, काठमाडौंबाट ओखलढुंगा हेलिकप्टर जाँदैछ, त्यही हेलिकप्टर ६ गते ताप्लेजुङ जाने व्यवस्था मिलाइएको छ।
७ गते घुन्सामा कार्यक्रम सकेर श्रीमतीलाई पाथीभरा मन्दिर दर्शन गराउने योजना गोपाल राईले बनाएका रहेछन्।
५ गते घरबाट हिँड्ने बेलामा मीनाले भनेकी थिइन्, ‘हेलिकप्टरमा ओखलढुंगा जाँदैछु।’
बाबु राजनीतिज्ञ त्यसमाथि मन्त्रालयको समेत जिम्मेवारी रहेकाले कहाँ कुन बेला जान्थे टुंगो हुँदैनथ्यो। परिवारले सोचेका थिए, ‘बुबाले आमालाई पनि बोलाउनुभएछ क्यारे।’
बेलुका घरमा के कसो छ भनेर मीनाले सम्झेकी रहिछन्।
बाबुसँग त खासै कुराकानी नै भएन। आमासँग भएको कुराकानी पनि आखिरी बन्न धेरै समय थिएन।
***
जेठी छोरी पुष्पा, छोरा विकास, माइली अञ्जली, साइँली रञ्जली र कान्छी स्वर्णञ्जली घरमै ज्ञानेश्वर डेरामै बसिरहेका थिए।
घटस्थापनाको दिन थियो, ७ गते।
परिवारले पुरै थाहा नपाएको त्यो कार्यक्रम थियो - विश्वमै पहिलोपटक कन्चनजंघा संरक्षण क्षेत्र र व्यवस्थापनको जिम्मा समुदायलाई हस्तान्तरण गर्ने। ६ गते सदरमुकाम आएको २४ सदस्यीय वन तथा प्रकृति संरक्षणविद्सहितको टोली घुन्सातर्फ गएको थियो। संरक्षणक्षेत्र घुन्साबाट अढाइ दिनको पैदल दूरीमा पर्छ।
बाबुआमा फर्केपछि दसैं मनाउन उदयपुर कटारी योजना बन्दैथियो, जहाँ उनीहरूको पुरानो घर थियो।
फूपाजूको छोरा सुमन राई र गोपालका पिए लक्ष्मण थापा टिभी हेर्दै रहेछन्।
टिभीमा फ्ल्यास न्युज कुद्यो, ‘वनराज्यमन्त्री र विज्ञ चढेको एमआई १७ को हेलिकप्टर सम्पर्कविहीन भयो।’
दुबै जना आत्तिए। घुन्सामा त्यही दिन कार्यक्रम थियो विहानको समयमा। कार्यक्रम सकाएर फर्कने क्रममा हेलिकप्टर बेपत्ता भएको खबर आफैंमा ‘डरलाग्दो’ बन्यो।
दुबैले सुनाएछन्, ‘हेलिकप्टर सम्पर्कविहीन बनेको खबर आइरहेको छ।’
त्रास र रुवाबासी एकैचोटी सुरू भयो। खबर पुरापुर आइनपुग्दै वातावरण शोकाकूल बन्यो।
के भएको हो, बाबुआमाको अवस्था के छ दिनभर स्पष्ट खुलाएर खबर प्राप्त भएन।
८ गते। नेपाल टेलिभिजनमf कार्यरत पत्रकार दिलीप थापामगर ज्ञानेश्वर डेरामा पुगेका रहेछन्।
दिलीप हातमा क्यामरा लिएर त्यतिकै बसिरहेका थिए।
नेपाल-१ टिभीमा त्यहीबेला ऋषि धमलाको हवाला दिएर समाचार बज्यो - घुन्सामा हेलिकप्टर दुर्घटनाग्रस्त भयो। मन्त्री, मन्त्रीपत्नी तथा देशी विदेशी वन तथा वातावरण संरक्षण विज्ञ २४ जना सबैको अवस्था अज्ञात।
मौसम खराब भएका कारण सम्पर्कविहीन हेलिकप्टर ढुङजे पहाडमा ठोक्किएको आशंका हुनसक्ने भन्दै खबर आइरहेको थियो।
शोकमग्न वातावरणमा अर्को चोट थपिदिने समाचार थियो त्यो। जेठी छोरी पुष्पा रन्थनिएर जाइलागिन्, ‘जे पायो त्यै खबर सुनाउने?’
दिलीप छलिए, भागे।
‘वास्तवमा त्यही नै रहेछ साँचो खबर,’ शनिबार पुष्पाले हल्का रोकिँदै रोकिँदै सुनाइन्।
***
घरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुजाता कोइराला लगायत नेता आएका याद छ। तर सबैको ख्याल गर्ने परिस्थिति थिएन।
लेख राई नाताले फूपाजू, जसलाई काठमाडौंबाट उद्धार गर्न गएको हेलिकप्टरमा गोपाल राईको परिवारको सदस्यको तर्फबाट लगिएको रहेछ। बाकसभित्र लाश पोको पारेर लेख फर्किएपछि मात्र परिवारले चित्त बुझाए, बाबुआमा सदाका लागि गुमाएछौं भनेर।
पशुपति किराँतेश्वर क्षेत्रमा अन्तिम संस्कारका लागि चारै जना दिदीबहिनी र दाइ पुग्दा बाकसमा लाश राखिएको थियो, बाहिर नाम लेखिएको थियो – गोपाल राई, मीना राई। अनुहार देखाइएन। वास्तवमा बक्साभित्र लाशका टुक्रामात्र थिए होलान्।
अहिले सम्झँदा त्यस्तो पनि लाग्छ, किनभने हवाई दुर्घटनापछि लाश हत्तपत्त चिन्न नसकिने हुन्छन्। त्यतिबेला त हवाई दुर्घटनाका खबर उनीहरूले धेरै सुनेका थिएनन्।
‘हामीलाई खोलेर देखाइएन, खै दाइले चाहिँ अस्पतालमा हेर्नुभो कि,’ पुष्पाले सम्झने प्रयास गरिन्, ‘ चार–पाँच दिनपछि लाश आइपुगेको थियो, हाम्रो शरीर नै एकप्रकारले शिथिल बनिसकेको थियो।’
प्रधानमन्त्री, विभागीय मन्त्रीहरू, नेताहरू थिए, अन्तिम संस्कार सकियो।
***
क्याप्टेन सा’प अञ्जली अर्थात् गोपाल राईकी माइली छोरी।
कलेज पढ्दापढ्दै अञ्जली नेपाल आर्मीमा सेकेन्ड लेफ्टीनेन्ट पदमा भर्ना खुला हुँदा फारम भरेकी रहिछन्। उनले परिवारमा कसैलाई थाहै दिइनन्, फाइनल अन्तर्वार्ता हुने चरण आउनै लागेको थियो।
त्यहीबेला बाबुआमाको हेलिकप्टरमा दुर्घटना भयो। बाबुआमालाई आफू आर्मीको सेकेन्ड लेफ्टीनेन्ट हुन लागेको खबर ‘सरप्राइज’ दिन चाहन्थिन्, अञ्जली। त्यो सपना सपनामै बिलायो।
बाबुआमा बितेपछि उनको अन्तर्वार्ता सकियो, उनी पास भइन्। आर्मीमा सेकेन्ड लेफ्टीनेन्ट भइन्।
प्रधान सेनोपति रुक्मांगद कटवाल थिए, ट्रेनिङ हुने सिलसिलामा रहेकी ती युवती मन्त्रीपुत्री हुन् भनेर कसैले ठम्याएनन् छन्।
बाबुआमा बितेको १० वर्ष पुग्नलाग्दा अञ्जली नेपाली सेनाको क्याप्टेन भएकी छिन्। दुई महिनाअघि उनको बिहे भएको छ, आर्मीकै मेजर रमेश पाण्डेसँग।
‘आर्मीमा पासआउट हुँदा आमा–बुबाले फुली लाइदिने चलन छ, आमाबाबुबाट फुली लाउने सपना अपुरो भयो, दिदीदाजुले लगाइदिनुभयो,’ क्याप्टेन अञ्जली भन्छिन्।
मेजर पाण्डेसँग उनको चिनजान एक वर्षअघि भएको थियो। त्रिशुली पोष्टिङ भएका बखत।
***
एक वर्षसम्म त ज्ञानेश्वरै बसे। त्यसपछि विकासले कपनमा घर किने। सबैजना त्यतै सरे।
त्यो एक वर्ष बाबु–आमाको सम्झनामा बित्यो। आगामी जीवन कसरी बिताउने भन्नेमा कसैलाई पनि चिन्ता भने भएनछ, किनभने घर आफ्नै। जेठी छोरी पुष्पा पहिलेदेखि नेपाल समाचार पत्रको व्यवस्थापन विभागकी जागिरे थिइन्।
माइली आर्मीको जागिरे। विकास कटारी–काठमाडौं गरिरहन्थे। अहिले पनि गरिरहन्छन्। उनको कटारीमा पनि व्यवसाय थियो, छ। साइली र कान्छी भविष्यका निम्ति संघर्ष गरिरहेका थिए। साइँली फाइन आर्ट कलेज पढ्दै थिइन्, कान्छी नर्सिङ पढ्न थालेकी थिइन्।
टेलिभिजनका रिपोर्टर भएका कारण दिलीपले पहिलोपटक पुष्पालाई अप्ठेरो परिस्थितिमा फेला पारेका थिए। दोस्रोपटक २०६७ सालमा टिचिङ अस्पतालमा भेट भयो।
पुष्पाका काका हजुरबुबा बलबहादुर राई बिरामी भएर त्यहाँ ल्याइएको थियो। स्वर्गीय मन्त्रीका काका त्यसमाथि कांग्रेसका नेता पनि थिए राई। खबर संकलन गर्न दिलीप त्यहाँ पुगेका रहेछन्। त्यसबेला पुष्पासँग फेरि जम्माभेट भयो। तर बोलचाल भएन।
अर्कोपटक, त्यसैगरी बलबहादुरलाई टिचिङ ल्याउँदा उनै थापामगर पुगेका थिए। बलबहादुरलाई डाक्टरहरू कसैले हेरेका रहेनछन्, सिकिस्त थिए।
दिलीपले त्यो चुपचाप हेरिरहन सकेनन्, तुरुन्त रामचन्द्र पौडेललाई फोन गरेर भने, ‘कांग्रेसको एउटा नेता आज यो अवस्थामा छन्, उपचार भइरहेको छैन। कोही कतै छैन सहयोगी। तुरुन्त केही व्यवस्था भइदिए हुन्थ्यो।’
रामचन्द्रले फोन घुमाएछन्, आधी घन्टाभित्र धेरै डाक्टरहरू झुम्म भएर बलबहादुरतिर केन्द्रित भए। लिएर गए, समय धेरै अबेर भइसकेको थियो। भेन्टिलेटरमा राखेर केहीबेर उपचार त भयो। तर बलबहादुरले त्यहीँ अन्तिम सास लिएछन्।
बलबहादुरको शवसँगै दिलीप ओखलढुंगा जाने तयारी गर्दैथिए, त्यहीबेला पुष्पाले ‘हजुरबुबाको लाशमा फूल चढाइदिनू है’ भनेर हातमा फूल थमाइन्। उनीहरूबीच त्यहीँ टेलिफोन नम्बर आदान–प्रदान भएछ।
एसएमएस र कहिलेकाहीँ टेलिफोन संवाद चलिरहन्थ्यो।
एक दिन पुष्पा सिंहदरबार जान लागेकी थिइन्। अफिसको विज्ञापनको एउटा टेन्डर भर्नु थियो। तर उनी एक्लैलाई सिंहदरबार छिर्न अप्ठेरो भएछ। हत्तपत्त दिलीपलाई फोन गरिन्, दिलीप आफैं आएर सिंहदरबार छिराइदिए।
त्यसपछि उनीहरू सम्बन्ध प्रगाढिँदै गयो। उनीहरूबीच प्रेम सम्बन्ध भएछ। प्रेम सम्बन्ध गाँसिएको तीन महिना हुँदैथियो। उनीहरूले २०६८ सालमा बिहे गरे। अनामनगरमा बसोबास छ, एक जना छोरा भर्खरै भएको छ। पुष्पा दिलीपकै न्युज एजेन्सीमा काम गर्छिन्, साइँली पनि त्यहीँ काम गर्छिन्।
उनीहरूको जीवन अहिले सुखशान्तिले नै बितेको छ।
कान्छी कपन दाइकोमा बस्छिन्, उनी छाउनीस्थित नेपाली सेनाको अस्पतालमा जागिरे भएकी छिन्। उनको भने बिहे भएको छैन। उनी अहिले जागिर सँगसँगै नर्सिङमा ब्याचलर पढ्दै पनि छिन्।
साइलीको बिहे भइसक्यो। उदयपुर निवासी मिलन राईसँग। उनी सपरिवार ग्राण्डी अस्पतालछेऊ बस्छन्। उनी पढ्दै छन्। तीनै जना दिदीबहिनी सबैले ‘लभ भ्यारिज’ गरे।
‘बुबा–आमाले नि लभ म्यारिज नै गर्नुभएको हो,’ पुष्पाले हाँस्दै भनिन्, ‘खै कान्छीले चाहिँ के गर्छे!’
***
जन्मदिने बाबुआमा नहुँदाको कुनै पल सबै छोराछोरीका निम्ति पीडादायी हुन्छ। बाबु वा आमामध्ये एक मात्र हुँदा पनि रित्तताको केहीहद व्यवस्थापन हुन्छ। उनीहरूका त बाबुआमा दुबैले एकैचोटी छोडेर गए।
चाडबाड, त्यो पनि दसैंको बेलामा बाबु–आमा गुमाए। दसैं मनाउने बेला उनीहरूलाई पारिवारीक चोटले स्मरण गराइदिन्छ। आमाबाबु यतै कतै छन् कि भन्ने लाग्छ।
बाबुआमालाई सम्झेर आँशु झार्छन्। अनि विस्तारै आफूलाई भुलाउने प्रयास गर्छन्।
‘चाडबाड अनि बिरामी भएको बेलामा साह्रै नै याद आउँछ,’ जेठी छोरी पुष्पा भन्छिन्, ‘सम्झना आउँछ, के गर्ने र।’
गोपाल–मीनाको अन्तिम संस्कारपछि उनीहरू आफ्नै संघर्षमा जीवन बिताइरहेका छन्। यसको श्रेय बाबुलाई जान्छ। गोपाल भनिरहन्थे, ‘छोरीहरू राम्रो पढ्नु पर्छ है।’
त्यसैले उनीहरूले समयलाई खेर फालेनन्, लगनशील भइरहे। अहिले छोरी सबैमा आफ्नो सुख–दुःख आफैं टार्नसक्ने सक्षमता हासिल भएको छ।
‘बुबाले भनेको मान्यौं, सँगै रहन समय हाम्रो अनुकूल भइदिएन,’ पुष्पा भन्छिन्, ‘तर आमाबुबाको सपनालाई बुझेर बाँच्न सिकेका छौं।’
फूलका सौखिन थिए गोपाल। जहाँ गयो, फूलका बिरुवा लिएर आउँथे।
जतिबेला, रातबिरात आइपुगे पनि उनी फूल रोप्थे ज्ञानेश्वर डेरामा। अबेर आएर भए पनि गोडमेल गर्थे। पानी हाल्थे।
सफा सुग्गर बस्ने बानी। घरमा थोरै कसिंगर देखे भने पनि गाली गर्थे, ‘यस्तो फोहोरमा बस्नु हुँदैन।’
ज्ञानेश्वर डेरामा हुँदा चारै बहिनी सँगै सुत्थे। बुबा कतिबेला आउँथे टुंगो हुन्नथ्यो।
तर जतिबेला आउँथे, छोरीहरू सुतेठाउँ पुग्थे अनि चारै छोरीलाई पालैपालो निधारमा म्वाई खान्थे। अनि आफू सुत्थे।
‘त्यो धेरै याद आउँछ,’ पुष्पा भन्छिन्, ‘बुबालाई सम्झिरहने त्यो क्षण।’
***
अचेल हवाई दुर्घटनाका खबर आइरहन्छन्। त्यो सुन्नेवित्तिकै अप्ठेरो भएर आउँछ। भरसक यस्तो नभएदेखि हुन्थ्यो भन्ने पनि लाग्छ।
‘मरेर जानेलाई त के हुन्छ र, बाँच्नेलाई हुनेसम्म हुन्छ,’ पुष्पा भन्छिन्, ‘परिवारलाई के भयो होला नि भन्ने पीर पर्छ।’
तस्विरः नारायण महर्जन/सेतोपाटी