फाइल फोटो
वैदेशिक रोजगारीका लागि मलेसिया गएकी आफ्नी श्रीमती सम्पर्कविहिन भएपछि रसुवा कालिकास्थानका टंक प्रसाद देवकोटा सहयोग माग्दै २ साताअघि महानगरीय अपराध महाशाखा टेकुमा आइपुगे। एसएसपी सर्वेन्द्र खनाललाई सम्पूर्ण घटनाक्रमबारे जानकारी गराए।
खनालले ती पुरुषलाई नआत्तिन आग्रह गर्दै छिटो भन्दा छिटो मलेसियामा सम्पर्क गरेर सबै जानकारी लिने बताए। प्रहरीले ती टंक प्रसादले भनेको जस्तै सबै जानकारी लेखेर मलेसियास्थित नेपाली दूतावासमा जानकारी गरायो। उनलाई विदेश पठाउने एजेन्टलाई प्रहरीले पक्राउ गर्यो।
एजेन्टले आफूले विदेश पठाएको म्यानपावर प्रहरीलाई देखायो। एजेन्ट र म्यानपावर संचालकलाई नियन्त्रणमा लियो । प्रहरीले एशोदा विदेश पठाएर ठग्ने म्यानपावर कम्पनी र एजेन्टको नाम भने गोप्य राखेको छ। नेपाली दूतावास र अन्य संघसंस्थाको सहयोगमा गत शनिबार ती महिलालाई उद्धार गरेर काठमाडौं ल्याउन अपराध महाशाखा सफल भएको एसपी सहकुल थापाले जानकारी दिए।
गत साउन ४ गते एजेन्टलाई ९० हजार बुझाएर मलेसिया उडेकी ३० वर्षीया एशोदा देवकोटालाई प्रहरीले उद्धार गरी काठमाडौं ल्याएको हो। हाउस मेडमा मलेसिया गएकी उनी ३ महिनादेखि सम्पर्कविहिन भएकी थिइन। मलेसियामा हाउड मेड खुल्ला छैन। इलेक्ट्रोनिक्स कम्पनीमा मात्र महिलालाइ जान खुल्ला गरिएको छ । प्राय श्रीमानलाई दिनहुँ जसो फोन गर्ने उनी एकाएक हराएपछि उनका श्रीमान श्रीमतीको जीवन रक्षाको माग गर्दै प्रहरी गुर्हान पुगेका थिए।
कम्पनीका मालिकले ३ महिनाअघि देखि आफूलाई मोबाइल फोन बोक्न नदिएको र कम्पनीबाहिर जान नदिएका कारण श्रीमानलाई फोन गर्न नपाएको ती युवतीले बताईन । उनले ९ महिनादेखिकै तलव पनि आफूले नपाएको गुनासो गरिन्।
गत मंसिरमा पनि अपराध महाशाखाले कुवेतबाट एक महिलालाई उद्धार गरेको थियो। हाउस मेडमा काम गर्न कुवेत पुगेकी उदयपुरकी लिलामाया पौडेल अस्वस्थ्थ भएपछि स्वदेश फर्कन चाहेकी थिइन । तर घर मालिकले आउन नदिएपछि फेसबुकमा भेटेको प्रहरीको नम्बरमा फोन गरेर नेपाल आउन सफल भएकी थिइन।
अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले वैदेशिक रोजगारीका क्रममा विदेशमा पुगेका अधिकांश महिलाहरुको अवस्था नाजुक भएको बताए। कम्पनी वा घर मालिकबाट दुब्र्यवहार झेल्न उनीहरु बाध्य हुने गरेको प्रहरीमा परेको उजुरीबाट नै थाहा हुने बताए।
सरकारले तोकेको भन्दा बढी रकम बुझाएर विदेश जाने, टुरिष्ट भिसामा गएर उतै लुक्नेजस्ता समस्या देखिएको उनले बताए। विदेश पुगेर अलपत्र परेका युवायुवतीलाई महाशाखाको हटलाइन ११७७ मा फोन गरेर जानकारी दिन उनले आग्रह गरे ।
यो पनि