वैशाख २९ गते भुकम्प जाँदाजाँदैको सिन्धुपाल्चोकको चौतारा बजार। फाइल तस्वीर किशोर
• भुईंचालोपछि ‘रातो स्टिकर’ लगाइएको घरमै व्यवसाय गर्न बाध्य बने चौताराका भीमनारायण श्रेष्ठ। लगातारको पराकम्पले घर भत्काउला र त्यहीं पुरियला भन्ने सन्त्रासमै उनले वर्षदिन बिताए।
• वैशाख १२–२०७२ मै घर ‘ग्राउण्ड जिरो’ भएपछि चौतारा नपा गौरातिका श्याम तामाङले अस्थायी टहरामा विजुली बाल्न हुकिङको प्रयोग गर्न बाध्य बने। जिल्लामा लगातार करेन्ट सर्ट भएर घटना हुन थालेयता उनमा त्रास उत्पन्न भयो।
• वैशाख १२ को भूकम्पले घर भत्किँदा पुरिएर आमा बितेको एक वर्ष पुग्न लाग्दा पनि पिपलडाँडाका विकेश कुँवर सामान्य अबस्थामा आउन सकेका छैनन्। आमा गुमाउनुको पीडासँगै वर्ष दिनसम्म छाप्रोको बासमा उनी आश्रित रहे। उनको परिवारले अझै व्यवस्थित घर बनाउने कल्पनासम्म गर्न सकेका छैनन्।
• पराकम्पमा भाग्ने बानी परेको पश्चिमी गाउँ सिन्धुकोटका सुनिल मिजार कुनै पनि बेला ढुक्कसँग बस्न नपाइएको गुनासो गर्छन्। पालपछि टहरामा बसोबास गरेका उनी वर्षैभरि मनमा डर लिएर बसेको बताउँछन्।
• गुम्बा गाविस–२ का धनबहादुर श्रेष्ठले सरकारको अनुदान लिएर घर बनाउने सपना साँचेको एक वर्ष पुग्दा पनि उनको धोको पूरा हुन सकेको छैन। सरकारले न अनुदान उपलव्ध गराएको छ न त घर बनाउ भनेर सर्वसाधारणलाई आव्हान नै गरेको छ।
• बाह्रविसेका हरि श्रेष्ठ भन्छन्, ‘भुकम्पले भत्काएको घर मर्मत गरेर बसेका छौं, पराकम्प आइरहेको छ, न भत्काउने पो हो कि?’ पेट पाल्नकै लागि घर मर्मत गरेर उनी व्यवसाय गर्दै आइरहेका छन्। भन्छन्, ‘हल्लाउन थाल्यो भने दगुरेर टहरातिर जान्छौं।’
• भुईँचालोले घर भत्काएर टहरामा बसेका लिस्ति–९ का नन्दलाल श्रेष्ठ अन्न राख्ने ठाउँ नहुँदा समस्यामा परे। हिमाली गाउँमा दैनिक आधारभूत आवश्यकतामा सामग्रीको सहज पहुँच नपुग्दा उनीहरु चिन्तित बने। झन् चोरको विगविगीले पछिल्लो वर्ष सन्त्रासमा पार्यो।
• सेलाङस्थित बाँसखर्कमा बस्दै आएकी गुम्बाकी चण्डिमाया दोङलाई हिउँड कटाउन मुस्किल बन्यो। अत्याधिक चिसोका कारण उनलाई रोगले च्याप्यो। मृत्युको सम्भावनाको डर उनमा रहिरह्यो।
• चिसो बढेसँगै जिल्लाको ठोकर्पा, मेलम्ची, कालिकालगायत गाउँमा भुकम्पपीडितको मृत्यु भयो। शीत चुहिने जस्ताको छानो र पर्याप्त ओड्ने ओच्छ्याउनेको अभावले उनीहरुको मृत्यु भएको हो। यो घटनाले जिल्लावासीलाई त्रास फैलायो।
• फागुन दोस्रो सातादेखि हुरी चल्न थाल्यो। भुकम्पपीडित जस्ताको अस्थायी टहरामा बसोवास गर्ने भएकाले हुरीले टहराको जस्ता उडाएर काटिदेला भन्ने भयले सबैलाई सतायो।
• भूकम्पका कारण जिल्लाका पाँच सय ४७ सामुदायिक विद्यालयका भवन ध्वस्त भए। अहिलेसम्म अस्थायी शिक्षण केन्द्रमा पठन पाठन भइरहेका विद्यालयका पुर्ननिर्माण कहिलेसम्म पूरा हुन्छ भन्न सकिने अवस्था नै छैन। लगामतारको पराकम्पले बालबालिका त्रसित बने
यी प्रतिनिधि उदाहरण हुन्, जिल्लाका भूकम्प प्रभावितहरुले झेल्नु परेका पीडाका।भुईँचालो गएको वर्षदिन बितिसकेको छ। हो पुरै वर्ष भुकम्पपीडितले त्रासै त्रासमा बिताउन बाध्य बने।
वैशाख १२ मा भुईँचालो गएपछि सारा सिन्धुवासी खुला आकाशमुनी बस्न बाध्य बने। एक सरो कपडामा लगातारको पराकम्पबीच रात कटाए सबैले। खुला जमिन छानेर बसोबास गर्नतिर केही दिनपछि मात्र सुरु भयो। रोदन, क्रन्दन, चित्कारको सामान गरे सबैले। लगातारको पराकम्पले सिंगो जिल्ला भयभीत बन्यो।
दिनानुदिन मृत्यु हुनेको संख्या बढ्दै गयो। हरेक दिन जिल्लाका कुना कन्दरामा मात्रै हैन प्रमुख बजारमा पनि रुवाबासी चल्यो। पराकम्पका कारण वर्षैसम्म भागदौड भयो। जिल्लाका धेरै ठाउँमा भुईँचालोबाट मृत्यु हुनेहरुको एउटै चिहान बनाइयो। ‘लास’ बोक्ने कोही नहुँदा एउटै खाल्डोमा शव पुर्नुपर्यो। महिलाहरुले शव जलाए।
भुकम्पको साता नबित्दै पीडा भुल्न रातको समयमा नाचगान गरेर रमाइलो गर्दै पीडित। फाइल तस्वीर
सदरमुकालगायत पक्की घर भएका प्रमुख बजारमा मान्छे हिँड्न सकिएन। मध्य दिन पनि रातजस्तै लाग्थ्यो। चौताराका भग्न घरहरु मुटु कमजोर भएकाले हेर्ने सक्दैनथे भने गाउँमा रहेका पक्की घरको अवस्था कल्पनाबाहिरको कुरा थियो।
वैशाख १२ को केही दिन जिल्लाका सबै सञ्चार माध्यम बन्द भए। विद्युत आपूर्ति बन्द थियो। भाडामा रहेका सञ्चारगृहमा क्षति पुगेका थिए। अधिकांश सञ्चारकर्मीका सञ्चार सामाग्रीमा क्षति पुगेको थियो। सबै सञ्चारकर्मीका घर भत्किएका थिए। परिवारका सदस्य बारीका पाटामा खुला आकाश मुनि रात बिताइरहेका थिए। आम जिल्लाबासीकै पीडा सञ्चारकर्मीले पनि भोगेका थिए।
के गर्ने र के नगर्ने द्विविधाकै बीच पनि राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी परिवारलाई बारिको पाटोमा अलपत्र छाडेर समाचार संकलनमा लागे। भूकम्प गएको भोलिपल्टदेखि त्रिपालमुनि सञ्चार उपकरण राखेर रेडियो सिन्धुले आफ्नो प्रशारण सुरु गर्यो। रेडियो मेलम्चीले बारीको पाटाबाट अन एअर गर्यो। अन्य रेडियोको पनि हालत त्यस्तै बन्यो। दिनभर रिपोर्टिङ गरेर साँझ समाचार सम्प्रेशण गर्न भोग्नु परेको पीडा सञ्चारकर्मीले अझै भूल्न सकेका छैनन्। जिल्लामा छपाइ सम्भव नभएपनि पत्रिकाहरू पनि राजधानीमा छापिएर आउन थाले।
यस्तै अवस्थामा गुज्रिएको सिन्धुपाल्चोक अझै उस्तै छ। यतिबेला जिल्लाका सबै भूकम्प पीडितको अवस्था अझै उस्तै छ। सरकारले घर बनाउने मापदण्ड सार्वजनिक गरेपनि अनुदानको प्रकृया अघि बढाएको छैन। अनुदान प्रकृया स्पष्ट रूपमा नआउँदा सर्वसाधारण घर बनाउने की छाप्रोमै बस्ने भन्ने अन्यौलमा छन्। सरकारले अनुदान दिन्छ र घर बनाउने भनेर बसेका भूकम्प पीडितको अबस्था दयनीय बन्दै गएको लिशंखुका भोलाघ्याम्सो लामा बताउँछन्। लामाका अनुसार गाउँका अधिकांश अनुदान पाएपछि मात्र घर बनाउने मनस्थितिमा छन्।
सरकारले सार्वजनिक गरेको मापदण्डका घर बनाउन अनुदानले नपुग्ने भएकाले पनि मध्यमवर्गीय परिवार थप अन्यौलमा छन्। सरकारले घोषणा गरेको दुई लाख अनुदान र तीन लाख सामुहिक जमानीमा उपलव्ध गराउने ऋणले घर बनाउन नपुग्ने भएकाले सर्वसाधारण थप अन्यौलमा छन्। गाउँका सामान्य परिवारको धितो नपुग्ने भएकाले बैंकबाट दिने भनिएको १५ लाख ऋण लिन सक्नेको संख्या न्यून हुन्छ। सामान्य घर पनि १० लाख घटिमा नबन्ने भएकाले निम्न र मध्यम वर्गीय परिवारलाई सरकारले तोकेको मापदण्ड अनुसारको घर बनाउन समस्या पर्न आउँछ।
अनुदान समयमा नआएकाले वर्खा नजिकिँदै गएसँगै भूकम्प प्रभावितहरुमा दोस्रो झरी पनि टहरोमै बिताउनु पर्ने भयले सताउन थालेको छ। प्रभावितहरू पनि वर्षा अघि घर बनाउन सकिन्छ भन्नेमा आशावादी छैनन्। सरकारको अनुदान कुरेर बस्दा अबको वर्षा अघि घर बनाउने सम्भावना कम देखिन्छ। अघिल्लो वर्षा जसोतसो थेगेका भूकम्पपीडित यो वर्षामा पनि रातभर जाग्राम बसेर बिताउनुपर्ने चिन्ता गर्न थालेका छन्।
बैशाख १३ गते सदरमुकामस्थित टुडिखेलमा पाल हालेर बसेका भुकम्पपीडित। फाइल तस्वीर।
विभिन्न गाविस जिम्मा लिएका संस्थाले फरक फरक राहतका कार्यक्रम सञ्चालन गर्दा कतै बढि र कतै कम सहयोग पुगेको पनि स्थानीयको अनुभव छ। सँगै जोडिएको गाविसमा काम गर्ने संस्थाले बढि सहयोग गर्दा छिमेकी गाउँका बासिन्दालाई आफ्नोमा काम गर्ने संस्थाप्रति वितृष्णा जागेका उदाहरण पनि छन्। भूकम्प गएको एक वर्ष पुग्दा पनि अस्थायी आवास निर्माणको अनुमति माग्न आउने गरेको पाइन्छ। यसले अझै अस्थायी आवासका कुरा गरेरै समय बिताउने हो भने पुर्ननिर्माण कहिले गर्ने भन्ने प्रश्न उव्जाएको छ। जिल्ला दैबी प्रकोप उद्धार समितिले अस्थायी आवास निर्माणमा रोक लगाएको छ। सँधै अस्थायी भन्दा स्थायी तिर ध्यान नजाने भएकाले अस्थायी आवास अनुमति रोकेको समितिले जनाएको छ।
भूकम्पपछि जिल्लाको पुर्ननिर्माणका सम्बन्धमा जति चासो हुनुपर्थ्यो सरोकारवालामा त्यो चासो देखिएको छैन। एकाध गाउँमा एकीकृत बस्ती र पुर्ननिर्माणका सवालमा बहस सुरू भएपनि त्यसले ठोस निर्णय लिन सकेन। जिल्ला स्तरमा अबको सिन्धुपाल्चोक कस्तो बनाउने भन्ने बहस नै सुरु भएको छैन। सरोकारवाला निकाय पुर्ननिर्माण प्राधिकरणकै मुख ताकेर बसेको देखिन्छ। राजनीतिक दल तथा नागरिक समाज कसैको पनि ध्यान अब बन्ने सिन्धुपाल्चोकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा जान सकेको छैन। एक वर्ष बित्दा पनि पुर्ननिर्माणको खाका आउन नसक्दा बिस्तारै हिजोकै गतिमा बस्ती बिस्तार हुने खतरा बढेको छ। अहिले पनि गाउँमा गयो भने त्रिपाल र चामल खोज्नेहरुको भिड भेटिन्छ। कसैले पनि क्षणिक राहतको पछि नलागेर पुर्ननिर्माणको दिसामा अघि बढ्न सर्वसाधारणलाई ‘मोटिभेसन’ गर्ने प्रयास गरेका छैनन्।