झापाको झिलझिलेमा प्रथम संस्करणको सताक्षी गोल्डकप हुने भएको छ। ऐतिहासिक तथा पर्यटकीय सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि वैशाख २५ गतेदेखि सताक्षीधाम गोल्डकप हुन लागेको हो।
आयोजक सतासीधाम स्पोर्टिङ क्लबले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। यो गोल्डकप झापामा पहिला पटक प्रायोजकबिनै आयोजना गर्न लागिएको हो। आर्थिक संयोजक गणेश प्रधानले झिलझिलेलाई माया गर्ने दाताको अभाव भएकाले यो गोल्डकप प्रायोजकबिनै आयोजना गर्न लागिएको बताए।
गोल्डकपमा भारतको एकसहित नेपालका ए डिभिजनका ६ वटा टिम सहभागी हुने क्लबका अध्यक्ष रमेश लावतीले बताए। प्रतियोगिताको बिजेताले नगद ३ लाख र उपबिजतेताले १ लाख ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। आयोजकका अनुसार प्रतियोगितामा भारतको कन्चनजंघा स्पोर्टिङ क्लब वेस्ट बंगाल, रमपम झापा–११, रुपेन्दही–११, मोरङ–११, तीन विभागीय त्रिभुवन आर्मी , सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक सतासी स्पोटिङ क्लब सहभागी हुनेछन्।
प्रतियोगिता सम्पन्न गर्न आयोजकले ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। आयोजक समितिका उपाध्यक्ष फूर्वा तामाङले स्थानीय उध्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताको स्पेशल दाताले गरेको आर्थिक सहयोगलेनै फुबवल खेल लागतको मुख्य स्रोत भएको बताए। खेलले सताक्षीधामको पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने खेलकुद विकास समितिका झापा अध्यक्ष शंकर थापाले बताएका छन्।
प्रतियोगिता सशुल्क हुने आयोजकले बताएको छ। त्यसका लागि घेराबारा र बेम्बो प्याराफिट समेत निर्माण सरू भएको आयोजक समितिका सल्लाहकार प्रमुख गणेश घिमिरेले बताए। उनका अनुसार पाँच हजार दर्शक अँटाउन सक्ने प्याराफिट निर्माण भइरहेको छ।