नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा बादलले उत्पीडित, पिछडिएका वर्गको अधिकार संरक्षण तथा उनीहरुको मुक्तिका लागि माओवादीबीच एकता हुनुपर्ने बताएका छन्।
फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले बिहीबार गरेको ‘सम्मान घोषणा तथा वितरण’ कार्यक्रममा उनले नेपालका माओवादी आधा दर्जनभन्दा बढी सङ्ख्यामा विभाजित हुनाले उपेक्षित र उत्पीडित समुदायको अधिकार स्थापित हुन नसकेको तथा जनताको लामो सङ्घर्षपछि संविधानसभाबाट संविधान जारी भएको भए पनि त्यसले विपन्न वर्गका अधिकारको सम्बोधन गर्न नसकेको बताए।
महासचिव थापाले भने, 'नयाँ संविधानले महिला, दलित, आदिवासी जनजाति तथा मधेसी समुदायको अधिकारलाई स्थापित गर्न सकेन, संविधानले महिलाको अधिकार पूर्ण रुपमा स्थापित गर्न सकेको छैन, अब माओवादी शक्ति तथा राष्ट्रवादी शक्तिबीच छिट्टै एकता गर्नुपर्छ।'
कार्यक्रममा लिम्बू भाषा, संस्कृतिको संरक्षणमा योगदान पुर्याएबापत रामकुमार लिङ्देन, मेनुका राई, राजकुमार लिङ्देन, उपासना नेम्वाङ, राजु घिमिरे, उदय सुब्बा, दिलीप ठकुरी लगायतलाई सम्मान गरियो ।
फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले एफएलएफ अवार्ड–२०७३ को पनि घोषणा गरेको छ। अवार्ड लिम्बू भाषा तथा संस्कृतिमा बनेका फिल्मस्मा आधारित रहेको फिल्मस्का निर्देशक दिनेश लिङ्देनले बताए। रासस