कम परिमाणमा इन्धन बेचेर उपभोक्तालाई ठगी गरेको अभियोगमा प्रहरीले दुई पेट्रोल पम्पका सञ्चालकमाथि कारबाही गरेको विरुद्धमा महोत्तरीका सम्पूर्ण पेट्रोल पम्प शुक्रबारदेखि बन्द गरिएका छन्।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले जलेश्वर– ५ स्थित न्यु विकास आयल स्टोर्स र रामगोपालपुर ७ स्थित महालक्ष्मी आयल स्टोर्सले कम परिमाणमा डिजेल र पेट्रोल बिक्री गरेर उपभोक्ता ठगी गरेकाले दुई पम्पमाथि कारबाही पक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोल पम्प बन्द गरेको हो।
एशोसिएसनले पक्राउ परेकालाई अविलम्ब रिहाइ, अनुगमनको क्रममा प्रयोग गरिएको जाँच गर्ने भाँडो विश्वसनीय नभएको, कुनै पनि मेसिनको सिल नटुटेको अवस्थामा रहेको भन्दै ठगी भएको प्रमाणिक आधारबिना मुद्दा चलाइएकाले सोको छानविनको माग गर्दै पेट्रोल पम्प बन्द आह्वान गरेको हो।
सहायक सिडिओ थापाको नेतृत्वमा गएको प्रहरीसहितको अनुगमन टोलीले रामगोपाल ७ स्थित महालक्षमी आयल स्टोर्सस्मा पाँच लिटर पेट्रोलमा १ सय ९० मिलिलिटर र पाँच लिटर डिजेलमा १ सय १० मिलिलिटर कम तेल बिक्री गरेको प्रमाणित भएपछि उक्त पम्पका संचालक औरही ५ बस्ने मुकेश चौधरीलाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै जलेश्वर ५ स्थित विकास आयल स्टोर्समा पाँच लिटर डिजेलमा ८० मिलिलिटर र पाँच लिटर पेट्रोलमा १ सय ९० मिलिलिटर तेल कम गरेर बेचेको पाइएकाले उक्त पम्पका कामदार मनोज साहलाई नियन्त्रणमा लिएको हो। अनुगमनका क्रममा प्रति ५ लीटर पट्रोलमा १ सय ७५ एमएल र उतिकै परिणामको डिजलमा ८० एमएल घटी पाईएपछि अर्को आदेश नभएसम्म तेल विक्रिमा रोक लगाएको हो ।
नियन्त्रणमा लिइएको दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइएको छ। उनीहरु विरुद्ध ठगी मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालयका महोतरीका एसपी जनक भट्टराईले बताए। धेरै पेट्रोल पम्पमा कम डिजेल पेट्रोल बिक्री वितरण हुँदै आएको जनगुनासो आउने गरेकोले उपभोक्ता ठग्ने पम्पलाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट खटिएको सहायक सिडिओको नेतृत्वमा प्रहरीसहितको टोलीले अनुगमन सुरु गरेका हुन्। आयल स्टोर्समा घटी तेल बेचेको गुनासो आएपछि टोलीले गुणस्तर तथा नापतौल कार्यालय जनकपुरबाट प्रमाणित गरिएको मापनले नाप्दा घटी भएपछि कारवाही प्रक्रिया हो।
मटिहानी, जलेश्वर, पिपरा, बखरी, बलवा, रामगोपालपुर, औरही, बर्दिवास, गौशाला, सम्सीमा१५ वटा पेट्रोल पम्पहरु रहेका छन्।