गुल्मीको रेसुङ्गा नगरपालिका-३को जङ्गल क्षेत्रमा भिषण आगलागी भइरहेको छ। हिजो साँझ लागेको डढेलो आज दिउँसोसम्म नियन्त्रणमा आएको छैन।
नगरपालिका क्षेत्रभित्रै रहेको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएको गुल्मीका प्रमुख जिल्ला अधिकारी बलराम अर्यालले जानकारी दिए।
आगलागी मानवबस्तीमा फैलन नदिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेको उनले बताए। प्रजिअ अर्यालले भने,'हिजो साँझ आठ बजेदेखि डढेलो सुरु भएको हो। अझै नियन्त्रणमा आएको छैन।'
पछिल्लो साता गुल्मीका धेरै सामुदायिक वनमा आगलागी भएको उनले बताए। लामो खडेरी र चर्को घाम तथा हावाहुरीका बीच लागेको आगोले विभिन्न सामुदायिक वनहरु उराठ बनाएको छ। उनले भने, 'जङ्गलमा लागेको आगो निभाउन सक्ने सम्भावना छैन। बस्तीमा नफैलियोस भनेर सतर्कता अपनाउनेबाहेक गर्नसक्ने केही छैन।'