पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–८ स्थित सुननही खोलाको पुलमा आज बिहान मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प २६२५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको मानराजा गाविस–२ बस्ने ३० वर्षीय मनोज दास रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २५ वर्षीय देवचन्द्र झा गम्भीर घाइते भएका छन् ।
उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
दुर्घटनामा परेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ । रासस