काठमाडौं बौद्धका सन्तोष लामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरबाट एक वर्षअघि पास आउट भएका विद्यार्थी हुन्। ४ वर्षको सिभिल इन्जिनियरिङ कोर्षमा उनी २ वटा विषयमा फेल भए। सधै कक्षामा हाजिर नहुने र पढाइसमेत कमजोर भएका आफ्नै साथीहरु फेल भएपनि पास भएको प्रमाणपत्र बोकेर हिँडेको देखेपछि उनलाई पनि नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउन मन लाग्यो।
साथीहरुले नै उनलाई ललितपुरस्थितपुल्चोक गावाहलमा कम्युटर डिजाइनर अंकित खड्कासँग भेट गराईदिए। अंकितले फोटोसपको कमालबाट उनलाई उनकै रजिष्ट्रेसन नम्बर हालेर इन्जिनियर पास भएको प्रमाणपत्र बनाइदिए।
***
धनुषाका शेखर पन्जियार नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको सन् २००७ को ब्याचका हुन्। उनी पनि इन्जिनियरमा फेल भए। फेल भएपछि साथी भाइ र परिवारको अगाडि मुख देखाउन उनलाई गाह्रो भयो।
आफूभन्दा अघिका ब्याजीहरू नक्कली प्रमाणपत्र लिएर हिँडिरहेका छन् भन्ने उनलाई थाहा थियो। कलेज प्रशासनले नै नक्कली प्रमाणपत्र बनाइदिन्छ भन्ने कलेजमा हल्लासमेत चलेको थियो। नभन्दै उनको सिरहाका मनोजकुमार साहसँग भेट भयो।
साहले आफूलाई नक्कली प्रमाणपत्र बनाइदिएको अंकितसँग पन्जियारको भेट गराइदिए।
***
कम्युटर डिजाइनर अंकित र सुवित खड्काले आफूसँग कम्तीमा २ लाखदेखि ४ लाख रूपैयाँसम्म लिएर नक्कली इन्जिनियरको प्रमाणपत्र बनाइदिएको पक्राउ परेकाले बताएका छन्। यता नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका अंकितले सेतोपाटीसँगको कुराकानीमा ४० देखि ५० हजार रूपैयाँमात्र लिने गरेको बताए।
‘आफू कम्युटर डिजाइनमा दख्खल भएको र चिनेजानेको साथीहरुले आग्रह गरेका कारण बनाइदिएको हुँ,’ उनले भने, ‘मैले व्यावसायिक रुपमा नक्कली प्रमाणपत्र बनाउने काम गरेको छैन।’ एक पटक गल्ती भएको भन्दै हिरासतबाट छुटेपछि यस्तो काम कहिल्यै नगर्ने उनले बताए।
सन्तोष आफूले काम गर्नका लागि नभइ पकेटमा मात्र राख्नका लागि प्रमाणपत्र बनाएको दाबी गरेका छन्। ‘पैसा कमाउन र जागिर खानका लागि होइन मैले साथीभाइ र आफन्तलाई देखाउनका लागि मात्र नक्कली प्रमाणपत्र बनाएको हुँ,’ उनले भने ।
‘एक पटक ठूलो गल्ती भयो,’ उनले भने, ‘अबदेखि यस्तो काममा फस्दिनँ।’ लामाले जेठमा हुने इन्जिनियरको परीक्षा आफूले दिन पाउनुपर्ने माग गरे। ‘म इन्जिनियरिङको केही विषयमामा फेल भएको छुँ, जेठ महिनामा परीक्षा हुदैँछ। म जसरी पनि सो परीक्षामा सहभागी हुन पाउनुपर्छ, परीक्षा दिनबाट मलाई बन्चित नगराइयोस,’ उनले भने ।
ठूला ब्यापारी र ठेकेदारका छोराको पनि नक्कली प्रमाणपत्र
पक्राउ परेकाहरुले आफूलाई समातेर प्रहरी हिरो बन्न खोजेको आरोप लगाए। ‘हामीले नाम चलेका ठूला ब्यापारी र ठेकेदारका छोराहरुले पनि नक्कली प्रमाणपत्र बनाएको प्रहरीलाई जानकारी दिएका छौं,’ उनले भने, ‘प्रहरीले अझै उनीहरूलाई समातेको छैन।’
ठूला ब्यापारी र ठेकेदारका छोराछोरीलाई समाउन प्रहरीले आँखा चिम्लिएको उनीहरुको आरोप छ। ‘हामी हिरासतबाट छुटेपछि पत्रकार सम्मेलन गरेर प्रहरीले क कसलाई समातेन त्यस बारेमा भण्डाफोर गर्छौ,’ उनीहरूले चेतावनी दिए।
नक्कली प्रमाणपत्र बनाएर अधिकांश विदेशमा
नेपालमा ३७ हजार इन्जिनियर छन्। ४ देखि ५ लाखसम्म खाडी लगायतका अन्य देशमा काम गर्न गएका छन्। नक्कली प्रमाणपत्र बनाइदिने अंकित खड्काले पनि धेरैजसो नेपाल छाडेर बाहिर नै गएको दाबी गरे। नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने न्यून मात्रामा मात्र नेपालमा रहेको बताए।
हजारौ नक्कली इन्जिनियर
नेपालमा रहेका ३७ हजार इन्जिनियरमध्ये ६० प्रतिशतको हाराहारीसँग नक्कली प्रमाणपत्र रहेको सर्लाहीका कृष्णकुमार झाले दाबी गरे। उनी पनि नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका हुन्। ‘११ लाख खर्च गरेर पास नभएपछि २ लाख खर्च गरेर नक्कली प्रमाणपत्र बनाएको हुँ,’ उनले भने, ‘ मैले जसरी प्रमाणपत्र बनाउने नेपालका ६० प्रतिशत इन्जिनियर छन्।’ सप्तरीका पुष्करराज शर्मा र धनुषाका शेखर पन्जियारले पनि नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने प्रहरीले सोचेभन्दा बढी रहेको बताए।
प्रहरीले अहिले नक्कली प्रमाणपत्र बनाउने एउटा मात्र गिरोह पक्राउ गरेको छ। नक्कली प्रमाणपत्र बनाउने अन्य गिरोह पनि सक्रिय रहेको भन्दै अनुसन्धान गरिरहेको छ। प्रहरीले नक्कली प्रमाणपत्र बनाइदिने अंकित खड्का र सुवित खड्कासहित ११ जना नक्कली इन्जिनियरलाई यो साता पक्राउ गरेको छ। उनीहरू सबै अहिले ललितपुर प्रहरी परिसरको हिरासतमा छन्।
यो पनि