प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सहमति गरेर देश बनाउने विषयमा आफू र आफ्नो दल नेकपा एमाले बाधक नरहेको स्पष्ट पारेका छन्।
संसदमा सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री ओलीले भने,‘ यो सरकारको विषयमा नीतिगत राष्ट्रिय सहमति कायम गरी बदल्न सकिन्छ। सहमति गरी देश बढाउने विषयमा म र मेरो दल बाधक छैन,’ उनले भने, ‘त्यसका लागि जस्तोसुकै छलफल गर्न तत्पर छौं।’
कुनै पनि राष्ट्रिय सहमति धोका र षणयन्त्रको जगमा नउठ्ने ओलीले बताए। ‘राष्ट्रिय सहमति षडयन्त्र र धोकाको जगमा उठ्दैन,’ उनले भने,‘ आवश्यकता र इमान्दारिताको जगमा राष्ट्रिय सहमति हुनुपर्छ।’
‘सहमतिको सरकार भन्दा भन्दै मेरो घाटि सुकिसक्यो,’ उनले भने, ‘अहिलेको आवश्यकता के हो? सहमतिको सरकार हो कि लोकतान्त्रिक विधि? संविधान कार्यान्वयन, जनताका आवश्यकता, पुननिर्माणका लागि सहमति आवश्यक छ।’
सहमति विभिन्न मनोग्रन्थीहरुले व्यक्त गरेका विरोधहरुलाई अन्त्य गर्न पनि आवश्यक रहेको ओलीले बताए।
सल्लाह र सहमति गरेन भन्ने आरोपबारे ओलीले भने,‘ अत्यन्त खुला हृदयका साथ सबै दल माननीयले बसेर छलफल गरौं। औच्यित्यका आधारमा देशलाई फाइदा पुग्ने गरी समाधान गर्न तत्पर छु।’