उपत्यकाका काँठ क्षेत्रहरूमा व्यावसायिक रूपमा गाँजाखेती हुने गरेको पाइएको छ।नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रहरीले बिहीबार सुन्दरीजल क्षेत्रमा स्थानीयहरूले करिब ११ सय रोपनीमा लगाएको गाँजाखेती नष्ट गरेपछि व्यावसायिक गाँजाखेती हुने गरेको तथ्य खुलेको हो। लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) को नेतृत्वमा खटिएको प्रहरीले गाँजा फँडानी गरी नष्ट गरेको हो।
स्थानीयहरूले बिक्रीकै उद्देश्यले व्यावसायिक रूपमै गाँजाखेती गर्दै आएको ब्युरोका एसपी धीरजप्रताप सिंहले बताए।
गाँजाबाट चरेस बनाएर भारत तस्करी
ब्युरोले मकवानपुर तथा धादिङका ग्रामीण क्षेत्रमा हुने गाँजाखेती नष्ट गर्दै आएको छ। मकवानपुर तथा धादिङमा खेती हुने गाँजा भने चरेस बनाएर भारतमा तस्करी हुने गरेको छ। जसमा अन्तर्राष्ट्रिय गिरोहले समेत लगानी गर्ने गरेको पाइएको छ।
उपत्यकाका नजिकका गाउँहरूमा रोपिने गाँजा भने पशुपति तथा उपत्यकाकै गाँजाका दुव्र्यसनीहरूलाई बिक्री हुने गरेको प्रहरीले जनाएको छ।