हरेक बिहान
आशाको बिस्कुन फिजाउँदै
हेरिरहेकी हौली तिमीले
परदेशी छोरा छोरीको बाटो
हरेक ढल्कदो साँझसँगै
निरासाका सुस्केरा छर्दै
आँशुमा डुबेकी हौली!
आमा रातहरु कहिल्यै सकिन्न
तिमी विना बिहानी पनि कहिल्यै हुँदैन
मलाई घच्घच्याउने तिम्रो आवाजहरु छैनन्
यहाँ मलाई स्पर्श गर्ने तिम्रा हातहरु छैनन्,
यो भीडभाड र कोलाहलमा
भागदौड लुछाचुडी मात्र छ
आमा यहाँ तिमीजस्तै माया गर्ने
मेरी अर्की आमा छैनन्!
आमा तिमीले चाहे
सूर्य पवन जल आकाश धर्ती
सबैलाई नतमस्तक गर्न सक्छ्यौ
दुःख, दर्द, तनाव अनि निराशा
सबैलाई हटाउन सक्छ्यौं
किनभने तिमी मेरी आमा हौं।
शक्ति देउ आमा मलाई
म पनि तिमी जस्तै महान हुन पाउँ
तिमी जस्तै सहनशील
सत्य अटल सौम्य र शान्त हुन् सकूँ
नारीलाई बुझ्न लागि
भावनाको धरातल चाहिन्छ
तिम्रो जस्तो कोमल मन चाहिन्छ
हजार पीडा सहने
बलियों आत्मविश्वास चाहिन्छ ।
म टाढा नै सही
तिम्रो ममताको आँचलले
म बाँचेकी छु
आमा तिमी धर्ती भन्दा विशाल,
संसारलाई ढाक्ने तिमी आकाश
मेरी आमा तिम्रो मुहारमा
कान्ति ल्याउन संकूँ
तिम्रो मनमाशान्ति ल्याउन सकूँ ।
मेरी आमा! तिम्रो एक मुस्कान नै
मेरा लागि स्वर्ग हो !