ललितपुरस्थित अल्का अस्पतालले काठमाडौ उपत्यकाका ट्राफिक प्रहरीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आयोजित स्वास्थ्य शिविरमा काठमाडाैँ उपत्यकामा कार्यरत ३ सय ३८ जना ट्राफिक प्रहरीको बिशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्य परीक्षण गरिएका मध्ये अधिकांश ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या, आँखा, छाला तथा ढाडको समस्या देखिएको थियो । धेरै जसो ट्राफिक प्रहरीमा धुलो र धु“वाका कारण श्वास प्रश्वास तथा छातीको समस्या देखिएको परीक्षणमा सहभागी छातिरोग बिशेषज्ञ डा. अजित श्रेष्ठले बताए ।
शिबिरमा छाला रोग, हाड जोर्नि, आँखा, नाक कान तथा घाटी, प्रशुति, छाति रोग, जनरल फिजिसियन लगायतका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिबिरमा बिरामीहरुको अवस्था हेरेर इसिजी तथा मधुमेहको ल्याब परीक्षण निशुल्क गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । अस्पतालले आवश्यकता हेरेर निशुल्क औषधी समेत बितरण गरेको थियो । अल्का अस्पताले उपत्यकाका ट्राफिक प्रहरीलाई लक्षित गर्दै बार्षिक रुपमा निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।