परियार सेवा समाजको तेस्रो राष्ट्रिय सम्मेलन सोमबारदेखि बुटवलमा शुरु भएको छ। तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको सामान्य प्रसाशन मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन्। सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले छुवाछुतमुक्त राष्ट्रमा छुवाछुतका घटना पटक पटक दोहरिनु बिडम्बनाा भएको भन्दै अब छुवाछुत गर्नेलाई कुनै पनि हालतमा छाड्न नहुने बताईन्।
छुवाछुतजन्य व्यवहार अन्त्य गर्नका लागि सरकारले समेत कडा रुपमा अभियान सञ्चालन गर्ने उनले बताईन्। सिंगो दलित समुदायलाई आन्दोलनमा गहनाको रुपमा मात्रै प्रयोग गर्ने काम भएको भन्दै अधिकार प्राप्त नभएकाले समुदाय पनि सचेत हुने बेला आएको उनको भनाई छ। उनले अब दलित समुदायले आफ्नो अधिकारको ग्यारेन्टी नगर्नेलाई समाजबाट बहिष्कार गर्न सक्नुपर्ने बताईन्।
राजनैतिक रुपमा सचेत हुँदा पनि जातीय छुवाछुत हट्न नसकेकाले अब बहस थाल्नुपर्ने बेला आएको मन्त्री शर्माको भनाई थियो। उनले साँस्कृतिक रूपमा धनी दलित समुदायलाई गरिएको विभेद अत्यन्तै पीडादायक रहेकाले अब यसको अन्त्य गर्नैपर्ने बताईन्। अहिलेको संविधानले दलित समुदायको अधिकारका बारेमा भने जती समेट्न नसकेपनि आधारभूत कुराहरू समावेश भएको उल्लेख गर्दै सरकारको अहिलेको नीति तथा कार्यक्रममा दलित, महिला र उत्पीडित समुदायको अधिकार र सेवाबारे प्रयाप्त कार्यक्रम समावेश गर्ने प्रयत्न गरिएको बताईन्।
सम्मेलनमा पूर्वमन्त्रीहरु प्रकाश चित्रकार, हरिशंकर परियार, ऋषिबाबु परियार, डिबि परियार, पूर्व सभाषद विनोद पहाडी, राष्ट्रिय दलित आयोगका अध्यक्ष मीनबहादुर नेपालीले बोल्दै सिप र कलाका धनी परियारहरुको सामूहिक विकासका लागि अब नयाँ रूपमा संगठित हुने बेला आएको बताएका थिए।
सम्मेलनमा ५० जिल्लाका करिब ६ सय भन्दा धेरैको सहभागिता रहेको छ।