घरै अगाडिको सानो नाली मर्मत गर्न समेत सरकारी रकमको मुख ताक्नेहरुलाई रुपन्देहीको देवदहका स्थानीयले विकास निर्माणमा आफैं जुट्नुपर्छ भन्ने सन्देश दिएका छन्।
रुपन्देहीको देवदह ११ भुपू सैनीक टोलका स्थानीयले बाजा बजाएर संकलन गरेको रकमबाटै कल्भर्ट, मन्दिर जस्ता पूर्वाधार निर्माण गरी सरकारी सहयोगको याचना गर्दै हिड्नेहरुलाई राम्रो पाठ सिकाएका हुन्।
अधिकांश भारतीय सेनाबाट अवकास प्राप्त भूपू सैनिकहरुको बसोबास रहेको उक्त टोलमा गाउँटोलको विकास अरूको मुख ताक्नुभन्दा आफैंले गर्नुपर्छ भन्ने भावनाको समेत विकास भएको छ।
२०४८ सालमा स्थानीय छर छिमेकमा हर्ष बढाई र विवाह गर्दा रमाईलो गर्न बाजा बजाउने उद्देश्यले स्थापित नवदुर्गा मगर बाजा समूहका सदस्यहरुले त्यस यता बाजा बजाएर आउने रकमको केहि हिस्सा कोषमा जम्मा गरेर विकास निर्माणका कार्यमा खर्च गर्दै आएका छन्।
बाजा बजाएर संकलन गरेको ढाई लाख बढि रकमबाट दुर्गा मन्दिर निर्माण गरेका उनीहरुले यसपटक मानिसको मृत्यु भएपछि घाट लैजाने बाटोमा पर्ने खोल्सामा कल्भर्ट निर्माण गरेको मगरबाजा समुहका सचिव अमर रोका मगरले बताए।
हिउँद याममा सुख्खा रहेपनि वर्षामा पानी भरिने खोल्सामा कल्भर्ट नहुँदा रोहिणी घाटमा जानका लागि समस्या परेपछि कल्भर्ट निर्माण गरिएको उनले बताए।
सधैभरी जानुपर्ने भएपनि कल्भर्ट नहुँदा आफूहरूलाई नै कठिनाई भएकोले अरुको मुख ताक्नुभन्दा आफैंले निर्माण गर्नु उपयुक्त हुने ठानेर कल्भर्ट निर्माण सुरू गरिएको उनले जानकारी दिए। २ लाख ४५ हजार खर्च भईसकेको उक्त कल्भर्ट निर्माणमा अझै २५ हजार रुपैया लाग्ने उनीहरूको अनुमान छ।
गाउँटोलमा हुने सानो तिनो कार्यको लागि वर्षौ सम्म सरकारी निकायको मुख ताक्नु नपरोस् भन्ने उद्धेश्यले बिवाह वा पूजाआजामा बाजा बजाए वापत प्रत्येक पटक केही रकम कोषमा जम्मा गर्ने गरेको समूहका अध्यक्ष नरवहादुर पुर्जाले बताए।
सुरुका दिनमा दैनिक १६ सय देखि २ हजार रूपैयासम्ममा बाजा बजाउने गरेका उनीहरुले अहिले २२ हजार रूपैया लिने गरेका छन्। जसबाट प्रत्येक पटक १ हजार रूपैया कोषमा जम्मा गर्ने गरेका छन्।
स्वर्गीय टेक बहादुर पुनको अगुवाईमा स्थापना गरीएको नवदुर्गा बाजा समूहमा हाल २५ जना सदस्य रहेका छन्। पछिल्लो समय नेपाली नौमती बाजाको माग बढेकोले समुहले बाजा बजाउने २ समूह बनाएर देशका विभिन्न स्थानमा जाने गरेको छ।
रुपन्देहीको अलावा काठमाडौं, पोखरा, चितवन र तुल्सीपुरसम्म बाजा बजाउन माग हुने गरेको अध्यक्ष पुर्जाले बताए। अहिले नौमती बाजाको सेट तयार गर्दा एक लाख पचास हजार लँग्ने र आफूहरूको समूहमा करिब ३ लाख बरावरको बाजा रहेको उनले जानकारी दिए।
विवाह र ब्रतबन्धको लगन भएका महिना तथा अन्य शुभकार्य हुने महिनामा अत्यन्त व्यस्त रहने यो समूहले स्थानीय महिलाहरुलाई समेत धौलागिरी आमा समूह मार्फत सामाजिक कार्यमा अग्रसर गराउँदै आएको छ।