पश्चिम सुर्खेतको गुटु चौकीका प्रहरीले दुई किशोरलाई हिरासतमा राखेर निर्घात कुटपिट गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रहरीले जुत्ताको माला लगाएर उनीहरूलाई बजारसमेत घुमाएको आरोप अभिभावकको छ ।
गुटु–८ का १५ वर्षीय प्रवेश सुनार र १९ वर्षीय कृष्ण थापालाई हिरासतमा राखेर प्रहरीले कुटपिट गरेको हो । सइ देवबहादुर विकको निर्देशनमा हवल्दार अमर चन्द र जवान प्रदीप खड्काले उनीहरूमाथि यातना दिएको अभिभावकले बताएका छन् । जुत्ताको माला लगाई गुटु बजार घुमाएर प्रहरीले सार्वजनिक बेइज्जतीसमेत गरेको अभिभावकको आरोप छ ।
स्थानीय मंगल जोशी र दीपेन्द्र रोकायबीच भएको झगडा छुट्याउन गएको, तर रोकायले कुटपिट गरेको उजुरी दिएपछि प्रहरीले आफूहरूलाई पक्राउ गरेर चरम यातना दिएको प्रवेश र कृष्णले बताए । आफूहरूलाई लात्ती र लाठीले हानेर चरम यातना दिइएको उनीहरूको भनाइ छ ।