चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालहरु सुक्न थालेका छन् ।निकुञ्ज भित्रकै दुई वटा ताल सुकेका र अन्य तालमा समेत पानीको सतह अत्यधिक मात्रामा घट्न थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
मुख्यतः खडेरीका कारण ताल सुक्न थालेको हो । निकुञ्ज बाहिरको पर्यटकीय महत्व बोकेको र गैँडाको विचरण हुने वरन्डाभारमा रहेको राइने तालसमेत सुकेको छ । “विभिन्न तालको अवस्था हेर्यौँ, निकुञ्जभित्र वन्यजन्तुको चहलपहल हुने लघुना ताल र थपलिया ताल सुकेको पाइयो,” अर्यालले भने – “अन्य तालको सतह पनि नराम्ररी घटेको छ ।”
वन्यजन्तु प्रभावित नहोस् भनेर तालमा पानी ल्याउने प्रयास भएको समेत उनले भने । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुका लागि अत्यावश्यक मानिने ताल पानीको अभावमा सुक्दै गएका छन् । भएका कतिपय ठूला ताल जलकुम्भी र करौँते झारले भरिएका छन् ।
अघिल्लो वर्ष नियमित रुपमा वर्षा हुँदा बाढीले ताल भरिएका थिए । तर यसपालि वर्षा नहुँदा ताल सुक्दै गएको निकुञ्जले जनाएको छ । जलवायु परिवर्तनको असरका कारण ताल विगतदेखि नै प्रभावित हुँदै आएको थियो । ताल प्राकृतिक रुपले नै खुम्चिदासमेत व्यवस्थापन गर्न सकिएको छैन ।
चितवन निकुञ्जको पानीको स्रोत चुरे क्षेत्र नै हो । चुरे क्षेत्रमा वन विनाश हुँदै जानु पनि ताल सुक्नाको अर्काे कारण भएको वातावरण विज्ञहरु बताउँछन् । वन र पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने निकुञ्जका प्रमुख रामचन्द्र कँडेल बताउछन ।
चितवन निकुञ्जमा मात्रै ५६ वटा महत्वपूर्ण तालहरु छन् । निकुञ्जमा अहिले तमोरताल, लामीताल, देवीताल, गरुड ताल, कमल ताललगायत महत्वपूर्ण ताल छन् । यी तालमा पनि माटोको सतह बढेर पुरिँदै जाने अवस्था रहेको निकुञ्जले जनाएको छ ।
यहाँका सामुदायिक वन क्षेत्रका तालसमेत सुक्दै गएपछि कृत्रिम ताल विगतका वर्षदेखि नै बनाइँदै आइएको थियो तर त्यो प्रभावकारी बन्न सकेको छैन । तालमा मुख्यगरी गैँडा रमाउँछ । अन्य जनावर पानी खान तालमा पुग्छन् । गोहीको मुख्य बासस्थान निकुञ्ज भित्रका ताल हुन् । रासस