राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट सञ्चारकर्मीको संस्था मिडिया नेपालले न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गराएको छ ।
मिडिया नेपालको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा पुगेर हालै सरकारले निर्णय गरेको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयनको कडाइपूर्वक अनुगमन गर्नका लागि माग गर्यो ।
तोकिएको न्यूनतम पारिश्रमिकको विरोधमा रहेका मिडिया सञ्चालकको दबाबमा नपरी सरकारको निर्णयमा अडिग रहन आग्रह गरिएको मिडिया नेपालका केन्द्रीय सदस्य राधिका जोशीले जानकारी दिए । उक्त भेटमा सञ्चारगृहमा कार्यरत प्राविधिक तथा कर्मचारीलाई समेत प्रेस पास उपलब्ध गराउन माग गरिएको थियो ।
सो अवसरमा मन्त्री राईले न्यूनतम पारिश्रमिक लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै यसका लागि पत्रकार सम्बद्ध सङ्घसंस्थाको निरन्तर दबाब आवश्यक रहेको धारणा राखे। उनले मिडिया सञ्चालकले उठाउँदै आएका मागको समेत सम्बोधन गरी न्यूनतम पारिश्रमिक लागू गरिने बताए।