धनुषचन्द्र गौतम अर्थात् धच गोतामेले दुइटा मात्रै उपन्यास लेखे- ‘घामका पाइलाहरू’ र ‘यहाँदेखि त्यहाँसम्म’।
उनका भाइ धु्रवचन्द्र गौतमले ३० वटा जति किताब लेखिसकेका छन्। आफ्ना दुई दर्जनभन्दा धेरै उपन्यासमा विविध प्रयोग गरेका छन्, विविध बान्की दिएका छन्। २०४० सालमा ‘अलिखित’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका गौतमको नेपाली आख्यान क्षेत्रमा विशिष्ट पहिचान छ।
उनलाई लाग्छ, परिवेशलाई थपक्क टिपेर उपन्यासमा सजाउन र पात्रलाई वास्तविक जीवन दिन उनका दाजु धच गोतमेलाई अरू नेपाली लेखकले भेट्न निकै गाह्रो छ।
२०३३-३४ सालतिर लेखेका हुन् धनुषचन्द्रले ‘घामका पाइलाहरू’। २०३५ सालमा छापियो र त्यस वर्षको मदन पुरस्कार र साझा पुरस्कार प्राप्त गर्यो। यो उपन्यासको सफलताले नै ‘यहाँदेखि त्यहाँसम्म’ लेख्न उनलाई प्रेरित गरेको हो कि भन्ने लाग्छ ध्रुवचन्द्रलाई। २०४२ सालमा छापिएको यो उपन्यासले पनि साझा पुरस्कार प्राप्त गर्यो।
दुबै उपन्यासका सबै पाठ पढेर सुनाउँथे धनुषचन्द्र। काठमाडौं बस्ने धनुषचन्द्र र भारतको पुणे पढ्न गएका ध्रुवचन्द्रबीच वीरगन्ज घरमा भेट हुन्थ्यो। राति अबेरसम्म दाजु आफ्नो उपन्यासको पाण्डुलिपि सुनाउँथे। भाइ चाख मानेर सुनिरहन्थे। यसअघि नै ‘अन्त्यपछि’, ‘बालुवामाथि’, ‘डापी’ जस्ता उपन्यासबाट उपन्यासकारका रूपमा चिनिइसकेका ध्रुवचन्द्र दाजुलाई आफूलाई लागेका सुझाव दिन्थे। राम्रो लागेको कुरा पनि भन्थे। उपन्यासको सैद्धान्तिक पक्षबारे पनि छलफल हुन्थ्यो दाजुभाइबीच।
उपन्यासका पात्र वास्तविक जीवनबाटै टिप्ने गर्थे धनुषचन्द्र। यी दुई उपन्यासमा भएका कतिपय पात्रको वास्तविक नाम पनि सुनाउँथे उनी। तीमध्ये कतिपय त ध्रुवचन्द्रले चिनेकै मानिस पनि छन्।
१२ वर्षको अन्तर छ दाजुभाइको उमेरमा। दुबैले बाल्यकाल वीरगन्जमा बिताएका हुन्। यही वीरगन्जको कथा हो, ‘घामका पाइलाहरू’। २३३ पृष्ठको किताबमा उनले एकठाउँमा पनि वीरगन्जको नाम लेखेका छैनन् तर वीरगन्ज सहरबारे थोरै मात्र ज्ञान भएको पाठकले यो वीरगन्जमाथि लेखिएको हो भनेर थाहा पाइहाल्छ।
उनीहरूको बाल्यकालको केही अंश बारा जिल्लाको बेतौनामा बित्यो। बेतौनाबाट डेढ कोष परको गाउँ मुर्कीपलियाको कथा ‘यहाँदेखि त्यहाँसम्म’मा छ।
यी दुई उपन्यासलाई धनुषचन्द्रले सिक्वेल भनेका छैनन्। तर घामका पाइलाहरूकै पात्र यहाँदेखि त्यहाँसम्ममा छन्। घामका पाइलाहरू जहाँ सकिएको छ, त्यहीँबाट यहाँदेखि त्यहाँसम्म सुरु भएको छ। त्यसैले यो उनको सिक्वेल लेखन नै हो भन्न सकिन्छ। परिवेश र कथा भने दुबै उपन्यासको बिल्कुलै फरक छ।
ध्रुवचन्द्र भन्छन्, ‘दाजुले आफूले बाल्यकाल बिताएका स्थानलाई नै उपन्यासमा प्रयोग गर्नुभएको छ। जसरी सुक्ष्म र सुन्दर रूपमा चित्रण गर्नुभएको छ, त्यो एकदमै अद्वीतिय छ। यस्तो सुक्ष्म र जीवन्त चित्रण त अरू नेपाली लेखकले गर्नै सकेका छैनन्।’
धनुषचन्द्रले देखेको वीरगन्ज सानो सहर थियो। रेललाई माध्यम बनाएर आफूलाई विस्तार गर्ने सुरसारमा थियो। ध्रुवचन्द्र सम्झिन सक्ने हुँदा चाहिँ अलि विस्तार भइसकेको थियोे। उपन्यासमा चित्रण गरिएभन्दा केही विशेषता थपिएका थिए। तैपनि रेल नै वीरगन्जको जीवन थियो। त्यही रेललाई जीवन्त बनाए धनुषचन्द्रले आफ्नो पहिलो उपन्यासमा। ध्रुवचन्द्र भन्छन्, ‘तीनवटा सडक, रेल्वे र त्रिजुद्ध स्कुल- यही वरिपरि थियो वीरगन्ज। अहिले त महानगर भइसक्यो।’
वीरगन्जको रेल भनेपछि ध्रुवचन्द्र ‘नोस्टाल्जिक’ भए। केहीबेर गम खाए अनि भने, ‘रेल यति जीवन्त रूपमा अरू कुन नेपाली साहित्यिक पुस्तकमा आएको छ ररु उहाँले उपन्यासमा रेललाई जीवन्त बनाउनुभएको छ।’
घामका पाइलाहरू वीरगन्जको इतिहास हो। अझ बढी वीरगन्जको रेलको इतिहास। अहिले बन्द भइसकेको त्यो रेलमार्ग किन र कसरी बन्यो भन्ने कथा अमलेन्दु भट्टाचार्यमार्फत पाठकलाई सुनाएका छन् धनुषचन्द्रले।
समाजमा भएकै पात्र टिपेर जीवन्त रूपमा उपन्यासमा पस्किएका छन् उनले। त्यसैले यी अमलेन्दु पनि कोही वास्तविक पात्र नै होलान् भन्ने लाग्छ ध्रुवचन्द्रलाई। वीरगन्जमा बंगालीहरूको बसोबास पनि छ। र, रेल्वेमा काम गर्ने केही बंगाली इन्जिनियर सानो हुँदा ध्रुवचन्द्रले पनि देखेका थिए। तिनैमध्ये कसैलाई कडा मिजासका रेल्वे हाकिम बनाएका होलान् लेखकले भन्ने लाग्छ उनलाई। रेल्वेका अरू कर्मचारी श्रीवास्तव, गणेशी, डाक्टर र डाक्टरकी श्रीमतीलगायत पात्रले भारतीय सीमामा रहेको नेपालको तराई सहरको विशेषता झल्काएका छन्।
उपन्यासको मुख्य पात्र पवन कथावाचक हो। पवन जहाँजहाँ पुग्छ, त्यही परिवेशको जीवन्त चित्रण आउँछ, त्यहाँ भएका पात्रका कथा आउँछन्। पण्डित दुर्गानाथ, पिताम्बर, अमलेन्दु, गणेशी, श्रीवास्तव सबैको आ-आफ्नै कथा छ। खासमा पवनको बाबु पिताम्बरले त्यो सहरमा गरेको संघर्ष उपन्यासको एउटा पाटो हो। आफ्ना बाबु पण्डित दुर्गानाथको उपचारका लागि सहरमा बसेको छ पिताम्बर। तर सहरमा चार जनाको परिवार चलाउन उसले गर्नुपर्ने संघर्ष निकै ठूलो छ।
पिताम्बरको छोरो पवन यही सहरमा हुर्किन्छ। अभाव र गरिबीबीच पनि उसले सहरमा सम्मान पाएको हुन्छ। उपन्यासको एउटा पाटो पवनको किशोरावस्थाको अनुभूति र अमलेन्दुपुत्री अणुप्रतिको आकर्षणको कथा हो।
वास्तविक पात्र नै लिएर आउने धनुषचन्द्रले पवनका रूपमा कसलाई ल्याएका होलान्?
ध्रुवचन्द्रले एकछिन सम्झिने प्रयास गरे र भने, ‘यकिन साथ त भन्न सक्दिनँ तर केही अंशमा दाजुकै छाया हो कि पवन। पवनसँग उहाँको गाम्भीर्य, भलाद्मीपन मेल खान्छ।’
अणु नि?
ध्रुवचन्द्र मुसुक्क हाँस्छन् र भन्छन्, ‘मलाई लाग्छ अणुचाहिँ अलि बढी नै काल्पनिक पात्र हो। दाजुको परिकल्पना हो।’
यहाँदेखि त्यहाँसम्ममा एकजना गायक पात्र छन्- कृष्णात्रे। ध्रुवचन्द्रलाई लाग्छ, शास्त्रीय संगीतका विद्वान रामप्रसाद रायलाई नै लेखकले कृष्णात्रे बनाएका हुन्। रायसँग ध्रुवचन्द्रको भेट काठमाडौंमा केही वर्षअघिसम्म भइरहन्थ्यो। राय पनि उपन्यासको कृष्णात्रेजस्तै ग्वालियरमै संगीत अध्ययन गरेर आएका हुन्। जुन रूपमा कृष्णात्रेलाई विशिष्ट प्रतिभाशाली संगीतकारका रूपमा प्रस्तुत गरिएको छ, राय पनि त्यस्तै थिए।
कल्पना होस् वा वास्तविक, धनुषचन्द्रको पात्र निर्माण गर्ने क्षमता उदाहरणीय छ। उनले प्रत्येक पात्रको सबल र दुर्बल पक्ष उपन्यासमा ल्याएका छन्। तिनको व्यक्तित्व पूर्ण रूपमा स्थापित गरेका छन्। एउटा व्यक्ति जीवनमा जसरी कमजोरी र विशेषतासहित बाँचेको हुन्छ, उनका पात्र पनि त्यस्तै छन्। त्यसैले यी दुई उपन्यासका पात्र एकदमै जीवन्त लाग्छन्।
पात्र मात्र होइन, समाजको चित्रण पनि उनले यसैगरी गरेका छन्। उनले समाजका सबै आयामलाई उपन्यासमा समेटेका छन्। घामका पाइलाहरूमा वीरगन्जको र यहाँदेखि त्यहाँसम्ममा मुर्कीपलियाको समाजका सांस्कृतिक, आर्थिक, राजनीतिक सबै आयाम समेटेका छन्। त्यसैले उनका दुवै उपन्यासका समाज पनि जीवन्त छन्। तिनमा गति र जीवन छ। ती वास्तविक समाजभन्दा कुनै अर्थमा पनि भिन्न छैनन्।
भाइ ध्रुवचन्द्रसँग धनुषचन्द्र भन्ने गर्थे– उपन्यास त्यसै लेखिँदैन। उपन्यास लेख्न धेरै ठूलो अनुभव चाहिन्छ।
‘दाइसँग त्यो अनुभव थियो। कम्युनिस्ट पार्टीको सदस्यका रूपमा लामो समय राजनीति गर्नुभयो । समाज र राजनीतिबारे उहाँको अनुभव यसले समृद्ध बनायो। नेपाल सरकारको कर्मचारीका रूपमा उहाँले धेरै अनुभव संगाल्नुभयो। यो अनुभव उहाँको लेखनीमा पनि देखिन्छ।’
धनुषचन्द्रको राजनीतिक अनुभव र चेतना पवनको बाबु पिताम्बरमार्फत अभिव्यक्त भएको छ। वीरगन्जमा सेठमार्फत मजदुरमाथि पुँजीपतिको शोषण तथा मुर्कीपलियामा भद्रनाथमार्फत गाउँवासीमा सामन्ती शोषणको उदाहरण उनले पेस गरेका छन्। यसको विरोध गर्न दुवै उपन्यासमा पिताम्बरलाई अघि सारेका छन्। पञ्चायतकालका कम्युनिस्टको जीवनशैली देखाउन भने घामका पाइलाहरूमा द्वारीकालाई उनले प्रस्तुत गरेका छन्।
घामका पाइलाहरूले मदन पुरस्कार प्राप्त गर्यो। यसको चर्चा पनि धेरै भयो। वीरगन्जको कथा, अझ किशोर पवनको माध्यमबाट देखाइएकाले यो उपन्याससँग ध्रुवचन्द्र अझ बढी जोडिएका छन्। तर उनलाई घामका पाइलाहरूभन्दा अझ उत्कृष्ट लाग्छ यहाँदेखि त्यहाँसम्म।
जसरी घामका पाइलाहरूमा वीरगन्जको इतिहास छ, त्यसैगरी यहाँदेखि त्यहाँसम्ममा मुर्कीपलियाको इतिहास छ।
जंगबहादुरका भान्से विपुलनाथ खतिवडाले मुर्कीपलियामा बस्ती बसालेको कथा छ उपन्यासमा। प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको जंगल यात्राको वर्णन रोचक त छँदै छ, तराईमा पहाडी समुदायका मानिसको आवादी कसरी भयो भन्ने एउटा उदाहरणसमेत उपन्यासले पेस गरेको छ।
भद्रनाथ, पार्वती, कृष्णात्रे, भाखी गुरु, पिताम्बरजस्ता पात्र र पाठशाला तथा मन्दिरजस्ता स्थानबाट उनले गाउँको जीवनमा गति दिएका छन्।
वीरगन्जबाट जब पवन केही समयका लागि आफ्नो गाउँ मुर्कीपलिया फर्किन्छ, यतिबेला नै उसले गाउँका विविध पक्षबारे थाहा पाउँछ। लेखकले पवनलाई माध्यम बनाएर पहाडी समुदायका मानिसको बसोवास भएको तराईको गाउँको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्ष सबल रुपमा प्रस्तुत गरेका छन्।
ध्रुवचन्द्र भन्छन्, ‘म बेतौना त्यति लामो समय बसिनँ। दाइ अलि बढी बस्नुभयो। गाउँको जीवन उहाँले यहाँदेखि त्यहाँसम्ममा सर्लक्क उतार्नुभएको छ। घामका पाइलाहरूभन्दा राम्रो लाग्छ मलाई यो उपन्यास।’
यी दुवै उपन्यास गद्य महाकाव्यजस्तो लाग्छ ध्रुवचन्द्रलाई। तर, दुईवटा यति शक्तिशाली उपन्यास लेखेका धनुषचन्द्रका अरू उपन्यास आएनन्। किनर?
‘केही उपन्यासका प्लट त सुनाउनुभएको थियो, तर उहाँले लेख्नसक्नु भएन,’ ध्रुवचन्द्रले भने, ‘के कारणले लेख्नुभएन भन्नेचाहिँ थाहा हुन सकेन।’
उनका यी दुई उपन्यास नै नेपाली साहित्यमा धनुषचन्द्र गौतमलाई चिनाउन पर्याप्त छन्।