संघीय गठबन्धनले आज बालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवास घेराऊ गरेको छ। गठबन्धनले सिंहदरबारपछि वालुवाटारलाई निशाना बनाउँदै घेराउ गरेको हो।
बालुवाटार घेराउ गर्न भाटभटेनीबाट अघि बढ्दै गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा दर्जनौ आन्दोलनकारी र एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन्।
सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत उनीहरुले हिजो र अस्ति माइतीघर मण्डला र हनुमानस्थानमा प्रदर्शन गरेका थिए।
गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरेको हाे । आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेराउ गरिएको गठबन्धनले जनाएको छ।
संविधान खारेजकाे माग गर्दै संघीय गठबन्धनले उपत्यका केन्द्रित अान्दाेलन गर्दै अाइरहेको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको बर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे-गराएमा कानुनबमोजिम कारबाही हुने सुवेदीले जानकारी दिए ।
यसैबीच प्रहरीले हिजोबाटै बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले निषेधित क्षेत्रमा आन्दोलनकारी छिर्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए।