उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।
नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।
लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अनुसन्धान गर्न भन्दै कारागार चलान गरेको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
जिल्लाका ६ वटा पेट्रोलपम्पमा मेसिन जडान गरी उपभोक्ता ठग्दै आएको अनुगमनको क्रममा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६ वटै पम्पका सञ्चालकलाई उपभोक्ता ठगी र कालोबजारीमा मुद्दा चलाएको थियो ।
खत्रीले २०७२ साल असार ४ गतेदेखि २०७२ मङ्सिर १० गतेसम्म रु ११ लाख ५४ हजार ४२२ ठगी गरेको प्रहरीले जनाएको छ । रासस