चीनको गान्सु प्रान्तको लान्चोउबाट नेपालका लागि सामान बोकेर छुटेको रेल सिगात्से आइपुगेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।
त्यहाँबाट चिनियाँ ट्रक–कन्टेनरमा सामान केरुङतर्फ ओसार्न थालिएको छ ।
हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले भने, ‘नेपाली सामान बोकेको रेल सिगात्से आइपुगेको छ । अहिले धमाधम सामान झार्ने काम भइरहेको छ ।’
सात दिनमै आइपुग्यो
लान्चोउबाट गत बुधबार छुटेको रेलका ४३ डिब्बामा ८६ कार्गो कन्टेनर छन् । दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गरेर रेल सिगात्से आइपुगेको हो । सिगात्से आइपुग्न करिब १० दिन लाग्ने अनुमान थियो, तर मंगलबार नै सिगात्से पुगेको थियो । केरुङमा छुट्टै यार्ड रेलबाट आएको नेपाली सामान राख्न चिनियाँ पक्षले केरुङको गिलोङ पोर्टमा छुट्टै यार्ड बनाएको छ ।
बुधबार केरुङ गएर फर्केका रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले चारैतिरबाट घेरेर नेपाली सामान राख्न छुट्टै यार्ड राखिएको बताए । उनले भने, ‘त्यो यार्डमा एकपटकमा तीन सय कन्टेनर राख्न सकिने देखिन्छ ।’