सरकारले देशभरि पाठ्यपुस्तक अभाव हुनुमा भारतले लगाएको अघोषित नाकाबन्दी ‘दोषी’ रहेको तर्क पेस गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नाकाबन्दीका कारण कागज समयमा नआइपुग्दा पाठ्यपुस्तक छाप्न ढिलो भएको दाबी गरेका छन्।
‘नाकाबन्दीको बीचमा कागज खरिद प्रक्रिया ढिला भयो,’ मन्त्री पोखरेलले बुधबार सेतोपाटीसँग भने, ‘आएको कागज पनि नाकामा अड्कियो।’
शिक्षामन्त्री पोखरेलले ९० प्रतिशत किताब पुगिसकेको र बाँकी रहेको चाँडै पुर्याउन पहल गरिरहेको बताएका छन्।
देशैभरि पाठ्यपुस्तक अभाव अहिले पनि जारी छ। कक्षा ६ र ७ को अनिवार्य विषय त हाहाकार नै छ। कक्षा ९ र १० का ऐच्छिक विषय पनि अभाव छन्। यही अवधिमा निजी क्षेत्रले छापेको कक्षा १ देखि ५ का किताब भने खासै अभाव छैन।
‘नाकाबन्दी भए पनि नभए पनि किताब जहिल्यै अभाव हुने हैन?’ सेतोपाटीको जिज्ञासामा मन्त्री पोखरेलले भने, ‘पाठ्यपुस्तक वितरणको व्यवस्थै भद्रगोल छ।’
भदौसम्म वितरण गर्ने अधिकृत बिक्रेतालाई बिक्रीको इजाजत दिइने र उसले हेडमास्टरमार्फत किताब गाउँ पुर्याउने गरेको पोखरेलले बताए। कर्णालीका मान्छे किताब लिन नेपालगन्ज आइपुग्नुपर्ने र संखुवासभाबाट विराटनगर आउनुपर्ने समस्या रहेकाले वितरण सहज हुन नसकेको उनको भनाइ छ।
‘अहिलेको वितरण तरिकाबाट किताब अभाव समाधान गर्न कठिन छ,’ उनले भने। वितरण प्रक्रियाबारे उनले थप बताउन मानेनन्।
यसपालि ६–१० कक्षाको किताब जनक शिक्षा सामग्री कम्पनी लिमिटेडले छापेको थियो। ६ र ७ को किताबको अत्यधिक अभाव छ। १–५ कक्षाको किताब निजी कम्पनीलाई छाप्न दिइएको थियो। १–५ को किताब अभावको गुनासो छैन।
देशभरिमा १ करोड ७० लाख किताब माग हो तर अहिले १ करोड २० लाख किताब मात्र छापिएको छ। जनक शिक्षाले पनि नाकाबन्दीका कारण समयमा कागज नआउँदा किताब छाप्न नसकिएको बताएको थियो।
निजी व्यवसायी भनेसरकारी पक्षको लापरबाहीका कारण किताब अभाव भएको बताउँछन्। ‘जनक शिक्षा कम्पनीको छाप्ने क्षमता नै कम छ, सरकारले उसैलाई यसपालि बढी किताब छाप्न दियो,’ विराटनगरका छापाखाना सञ्चालक बलराम गिरी भन्छन्, ‘निजीलाई छाप्न दिएको किताब अभाव कतै छैन।’
व्यवस्थापिका संसदको निर्देशनअनुसार आफूले निजी कम्पनीलाई पुस्तक छाप्न नदिएको मन्त्री पोखरेलले बताए। ‘मैले संसदको निर्देशन पालना गर्नुपर्छ, त्यसैले दिइनँ,’ उनले भने।
जनक शिक्षा कम्पनीका सात वटा वितरण केन्द्र छन्। विराटनगर, जनकपुर, भरतपु, पोखरा, भक्तपुर, नेपालगञ्ज र धनगढीबाट किताब वितरण हुन्छ, ती केन्द्रबाट व्यापारीले सिधै किताब खरिद गरेर लैजान्छन्।
धनगढी वितरण केन्द्रका अनुसार ६ कक्षाको किताब अत्यधिक अभाव छ। उक्त क्षेत्रमा १६ लाख १० हजार किताब वितरण भएको छ। माग १८ लाख हो।
कक्षा ६ का तीन–चार वटा अनिवार्य विषयका किताब नै आएका छैनन्। ७, ८ अनिवार्य र ९, १० का ऐच्छिक विषय पनि छैनन्। ‘अहिलेको बढी समस्या भनेको ६ कक्षाको हो,’ केन्द्रका एक कर्मचारीले भने।