व्यवस्थापिका संसद्मा विभिन्न चार वटा विधेयकमाथिका प्रतिवेदन पेश भएका छन्।
संसद्मा अर्थ समितिले २ वटा तथा सुशासन तथा अनुगमन समिति र महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले एक एक वटा विधेयकमाथिका प्रतिवेदन पेश गरेका हुन्। अर्थ समितिले बैंक तथा वित्तिय संस्था सम्बन्धी कानून (वाफिया)लाई एकीकरण गर्न बनेको विधेयक र निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना र संचालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रतिवेदन पेश गरेको छ।
समितिका सभापति प्रकाश ज्वालाले दुवै विधेयकमाथि संशोधनसहित प्रतिवेदन पेश गरिएको बताउनुभयो। संसद्ले वाफिया सम्बन्धी विधेयक गत पुस २० गते र निक्षेप तथा कर्जा सुरक्षण कोष सम्बन्धी विधेयक गत माघ ५ गते अर्थ समितिमा पठाएको थियो।
सुशासन तथा अनुगमन समितिले सार्वजनिक खरिद् पहिलो संशोधन विधेयकमाथिको प्रतिवेदन तथा महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले शिक्षा ऐन आठौं संशोधन विधेयकमाथिको प्रतिवेदन पेश गरेको हो। संसद्ले शिक्षा ऐन आठौं संशोधन विधेयक गत पुस २० गते समितिमा पठाएको थियो। समितिहरुले पेश गरेका प्रतिवेदन संसद्मा सामान्य छलफलपछि पारित गर्ने परम्परा छ ।