आगामी आर्थिक वर्ष २०७३/७४ को लागि सनिबार अपरान्ह १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाको बजेट प्रस्तुत गरेको सरकारले लुम्बिनी अञ्चलका पनि महत्वाकांक्षी योजनाहरुलाई बजेटमा समावेश गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलको क्षेत्र समेत रहेको रुपन्देहीलाई केन्द्र राखेर डेढ दर्जन बढी योजनाहरुलाई सरकारले यस वर्षको बजेटमा समावेश गराएको छ।
रुपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाखाँची र पोखरा जोड्ने जोखिमयुक्त बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा सुरुङ् मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदनको लागि बजेट छुट्याएको छ। प्रतिवेदन तयार भएपछि सुरुङ मार्ग निर्माणको कार्य अगाडि बढाउने जनाएको छ।
सरकारले आगामी वर्षमै लुम्बिनी, भैरहवा, त्रिवेणी, दुम्किबास, गैंडाकोट, राम्दी, रिडी, तम्घास, सन्धिखर्क, गोरुसिंगे, तौलिहवा र लुम्बिनी जोड्ने बृहद लुम्बिनी चक्रपथ निर्माण विस्तृत अध्ययन प्रतिवेदनको लागि बजेट विनियोजन गरेको छ।
बुटवल तानसेन सडक दुईलेन हुने गरी स्तरोन्नती र भैरहवा लुम्बिनी तौलिहवा बहादुर गञ्ज सडक चारलेनको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।
कपिलवस्तुको तौलिहवा, रुपन्देहीको भैरहवा र नवलपरासीको परासीमा सडक, ढल, खानेपानी, नविकरणीय उर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रका आयोजना छनौट गरी सघन शहरी विकास कार्यक्रम कार्यान्वयनको लागि प्रत्येक जिल्लामा ५० करोड रुपैया छुट्याएको छ।
बुटवलमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र दुई वर्ष भित्र सम्पन्न गर्ने र लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माणको काम यसैवर्ष देखि शुरु गर्ने जनाएको छ।
गुल्मी जिल्लामा रेशम खेती प्रशोधनका लागि विस्तृत अध्ययन प्रतिवेदन, बुटवलमा दुग्ध प्रशोधन केन्द्रको स्थापना र रुपन्देहीमा उन्नत गाईको श्रोत केन्द्र स्थापनाको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।
कालिगण्डकी तिनाउ र राप्ती कपिलवस्तु डाईभर्सनको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।
औद्योगिक क्षेत्रको विकासको लागि रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको काम अगाडि बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश विस्तार गर्न बेलहिया एकीकृत सुरक्षा चौकी निर्माणको कामलाई पनि बजेटमा समावेश गरिएको छ।
बुटवलमा मेडिकल कलेजको स्थापना, भैरहवामा क्रिकेट स्टेडियम र तानसेन, गुल्मी र अर्घाखाँचीमा खानेपानी वृहद पम्पिङ विशेष आयोजना कार्यान्वयनको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम २०७४ साल माघ महिना भित्र संचालन गर्ने गरी निर्माणको कामलाई अघि बढाउन ७ अर्ब २२ करोड रुपैया बजेट विनियोजन गरिएको छ।
३८ वर्षसम्म पुरा हुन नसकेको लुम्बिनी गुरुयोजनाको काम दुईवर्ष भित्र पुरा गर्ने र वृहत लुम्बिनी विकास गुरुयोजनाको कामलाई आगामी वर्षदेखि नै अघि बढाईने भएको छ।
कपिलवस्तुको तिलौराकोटको संरक्षण र उत्खनन्का लागि आवश्यक जग्गा अधिग्रहणको काम पुरा गर्नुको साथै नवलपरासीको रामग्रामको जग्गा संरक्षण र विकासलाई उच्च प्राथमिकता दिईने सरकारले जनाएको छ।
तिव्र रुपमा विकास भईरहेका रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई मिलाएर महानगरपालिका बनाईने छ भने लुम्बिनीलाई स्मार्ट सिटीको रुपमा विकास गरिने छ।
बुटवल गड्डाचौकी रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार, काठमाडौं लुम्बिनी रेल मार्गको अध्ययन गरी २ वर्षमा निर्माण कार्य थालिने सरकारले जनाएको छ।