नेपालका चितवन, लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा संयुक्त राज्य अमेरिकाको योसेमिटी राष्ट्रिय निकुञ्जबीच ‘सिस्टर पार्क’ (निकुञ्जबीचको मितेरी साइनो) सम्बन्ध गाँसिएको छ।
प्रदूषण, आक्रामक प्रजाति, वनस्पति तथा पशुरोग र लोपोन्मुख सांस्कृतिक सम्पदा जस्ता समस्याहरूलाई सम्बोधन गर्न मितेरी साइनो गासिएको अमेरिकी दूतावासले जनाएको छ।
‘सूचना आदानप्रदान तथा निकुञ्जहरूबीच प्रत्यक्ष सम्पर्क वृद्धि गरी यी निकुञ्जहरूको आपसी लाभका लागि द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने गरी निकुञ्जहरूबीचको साइनो तय गरिएको हो,’ दूतावासले भनेको छ।
‘सिस्टर पार्क’ को सहमतिले साझा शोध र अनुगमनसम्बन्धी सहकार्यका लागि समेत मञ्च प्रदान गर्ने दूतावासले जनाएको छ।
अन्तर्राष्ट्रिय आदानप्रदानमार्फत निकुञ्जका कर्मचारीहरूलाई अनुभव र प्रशिक्षणका हिसाबले समृद्ध बनाउँने भन्दै दूतावासले २०२९ जेठ २३ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा स्थापित विश्व वातावरण दिवस नजिकिँदै गर्दा हाम्रा दुई देशका लागि यो सम्बन्ध विशेष महत्त्वपूर्ण वातावरणीय कोशेढुङ्गा भएको बताएको छ।
सहमतिमार्फत चितवन, लाङटाङ, सगरमाथा र योसेमिटीले प्राकृतिक तथा सांस्कृतिक स्रोतको संरक्षण तथा पुनर्स्थापना, आगन्तुक शिक्षा तथा सुरक्षा, जलवायु परिवर्तनको अनुकूलनसम्बन्धी रणनीति विकास, साझेदारी संलग्नता रणनीतिका लागि सहकार्य हुनेछ।
‘योसेमिटी, लाङटाङ र सगरमाथा विविध पर्यायवरणीय समुदाय, अपार प्राकृतिक स्रोत र शदियौँको मानव इतिहासलाई समर्थन गर्ने चमत्कारपूर्ण पर्वतीय शृङ्खलामा अवस्थित छन्,’नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनिन्, ‘दुवै देशका निकुञ्जहरू आफ्ना छिमेकी समुदायका लागि बलिया आर्थिक इन्जिन समेत हुन् । तर विकास, अवैध क्रियाकलाप, जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनका कारण तिनीहरूले बढ्दा चुनौतीहरू भोगिरहेका छन् ।’