पूर्वी नेपालका पर्यटकीय स्थानहरूमध्ये मोरङको सिंहदेवीस्थित जेफालेलाई नयाँ पर्यटकीय गन्तब्यका रूपमा लिन सकिन्छ।
पूर्वमा इलाम बिर्साउने चिया बगान र धनकुटाको भेडेटार विर्साउने मौषम भएको जेफालेमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढेको छ।
पछिल्लो समय यहाँ सुरू गरिएको होमस्टे (घरबास) र जेफाले डाँडामा निर्माण गरिएको भ्यू टावरले यसको आकर्षण थपेको छ।
समुन्द्र सतहबाट १ हजार ९ सय ७० मिटर उचाइमा रहेको जेफाले डाँडा मोरङ र धनकुटाको सीमामा पर्छ।
के के पाइन्छ?

जेफाले डाँडाबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगासहितका हिम शृंखला देख्न सकिन्छ। पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन सहजै गर्न सकिन्छ।
चिया बगानले थप प्राकृतिक सौन्दर्यता थपेको छ। पाथिभारा मन्दिर, ऐतिहासिक किम्बदन्ती रहेको तीनचाने ढुगां र डाँडामाथि शिवपार्वतीको मन्दिर निर्माण गरिएको छ।
होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ। ५ वटा होमस्ट सञ्चालनमा आएको जेफालेमा अरू बन्ने तयारीमा छन्।
४५ जनाको समूहलाई खान र बस्नको सुबिधा यहाँ पाइने होमस्टे व्यवसायी भीमवहादुर ठकुरीले सेतोपाटीलाई बताए।
‘पर्यटकको सुविधाका लागि हामीले प्याकेजको व्यवस्था गरेका छौ, १ हजार रूपैयाँमा १ दिनको खाना, बस्न र चिया नास्ताको सुविधा छ,’ उनले भने।
कसरी जाने

महेन्द्र राजमार्गमा पर्ने खोर्सानेदेखि लगभग ४० कि.मी उत्तरपूर्वमा पर्छ। ३/४ वटा डाँडा काटेर जानुपर्ने भएकाले र बाटो जोखिमपूर्ण छ। केराबारीदेखि २७ कि.मी पार गर्न मात्र ४ घन्टा लाग्छ।
कोशेली
जेफालेमा जानेले र्अगानिक चिया र चुथ्लो फलको र्अगानिक रक्सीको कोशेली लैजान सकिन्छ।

कुल ७२ लाखको लागतमा निर्माण गरिएको ४२ फिट अग्लो चार तले भ्यू टावर १ हजार ९ सय ७० मिटर उचाइमा छ। मोरङ जिविसको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख, पर्यटन कार्यालय काकडभिट्टाबाट २१ लाख अनुदान र जनताबाट संकलित रकमबाट भ्यू टावर निर्माण भएको हो।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले गत साता भ्यू टावर र होम स्टेको उद्घाटन गरेका हुन्।
जेफालेको विकास गर्न जिल्ला विकास समिति धनकुटा, जिल्ला विकास समिति मोरङ, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति लगायतका सरकारी निकायहरुले चासो दिएका छन्।
सुनसरी, मोरङ र धनकुटाको चौबीसे क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ। जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक यहा पुगेका व्यक्तिहरु फेरि फेरि पनि त्यहाँ पुगिरहने गरेका छन्।

चैत वैशाखको चर्को गर्मीमा समेत जाडो हुनाले जेफालेमा आन्तरिक पर्यटकलाई लोभ्याएको छ।
जेफालेमा यतिका धेरै सम्भावनाहरु हुँदा हुदै पनि विकासमा चासो नदिएको स्थानीयको आरोप छ। पर्यटन विकासको प्रशस्त सम्भावना हुँदा समेत विकासमा सरकारी चासो नभएको स्थानीय बताउँछन्।
सडकको स्तरोन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था हुँदा जेफाले पूर्वको पर्यटकीय केन्द्रका रुपमा विकास हुने उनीहरुको बुझाइ छ।
‘कच्ची सडकले गर्दा जान केही समस्या हुन्छ। यहाँ खानेपानीको पनि समस्यै छ,’ जेफाले पर्यटन विकास समितिका सचिव भीमबहादुर ठकुरीले भने,‘ गाउँमा केही सेवा र सुविधा थपियो भने यहाँ आउने पर्यटक दोब्बर संख्यामा वृद्धि हुनेछन्।
सम्पर्कः जेफाले सामुदायिक होमस्टे: ९८१७-३६०९८३

