१० हजार रूपैयाँको लोभमा आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक स्थायी घर भइ बौद्ध तीनचुलीमा बस्दै आएको २४ वर्षीय लाक्पा तामाङको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सोही ठाउँका बलराम जोशीलाई पक्राउ गरेको छ।
२० ७२ साल वैशाख २० गते तामाङको शव तिनचुलीस्थित मंगल लाल श्रेष्ठको खेतमा फेला परेको थियो। तामाङको हत्या भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
हत्याको अनुसन्धानका आधारमा प्रहरीले उनीसँगै एउटै कोठामा बस्ने साथी ज्योतिलाई पक्राउ गरेको हो।
प्रहरी अनुसन्धानका आधारमा दुबै मिली चोरी गरेको १० हजार रूपैयाँ बाढ्ने विषयमा कुरा नमिलेपछि तामाङको हत्या भएको हो।
हत्यामा संलग्न ज्योति यसअघि २०७० असार ३० गते दक्षिणढोकामा भएको चोरी काण्डमा पक्राउ परि २०७० साउन १९ गते छुटेका थिए।
यस्तै २०७१ वैशाख १२ गते सिन्धुपाल्चोक क्युल भन्ने ठाउँमा भएको डाँका घटनामा समेत संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ।
मृतक तामाङ र ज्योति बच्चादेखिकै मिल्ने साथी हुन्। उनीहरू दुवैजना तिनचुलीमा एउटै कोठामा बस्दै आएका थिए। प्रहरीका अनुसार दुई जना मिलेर रातको समयमा बिभिन्न स्थानहरुमा चोरी समेत गर्ने गरेको प्रहरीले जनाएको छ।
वैशाख १९ गते कामको शिलशिलामा भारत जाने भन्दै घरबाट काठमाडौं आएका उनीहरू जित बहादुर तामाङसँग मिलेर जोरपाटीको एक होटलमा रक्सी र चाउचाउ खाएका थिए।
अत्याधिक रक्सी सेवन गरिसकेका उनीहरूले राति ९ बजेको समयमा तीनै जना तिनचुली आरूबारीस्थित कोठा फर्किएका थिए।
कोठामा पुगेपछि जित बहादुर तामाङ सुते भने मृतक र अभियुक्त बलराम ज्योति चोरी गर्ने उद्देश्यले बाहिर निस्केको प्रहरी अनुसन्धानले जनाएको छ।
चोरी गर्ने उपयुक्त वातावरण नमिलेपछि उनीहरू छहारी क्लबतिर गएको र एकजना अपरिचित मानिसको खल्तिबाट १० हजार लुटेर भागेका थिए।
उक्त पैसा लुटिसकेपछि उक्त पैसा सबै आफैले राख्न भन्दै ज्योतिले आरुवारीमा बन्दै गरेको घरबाट रडको टुक्रा आफूसँगै लिएर गएका थिए।
सोही बन्दै गरेको घर नजिकै रहेको मंगलमान श्रेष्ठको खेतमा पुगेपछि लाक्पा तामाङलाई आफ्नो साथमा रहेको फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरी फरार पैसा लिएर भागेको उनले प्रहरीसामु बयान दिएका छन्।
घटना पश्चात् फरार रहेका उनलाई प्रहरीले बिहीबार दक्षिणढोकाबाट पक्राउ गरेको हो।
थप कानुनी कारबाहीको लागि ज्योतिलाई गते महानगरीय प्रहरी वृत्त बौद्द पठाईएको छ।