चीनको युन्नान प्रान्तीय जनसरकारका गभर्नर चेन हाओले आज चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा दुई पक्षले नेपाल–चीन सहयोगबारे विचार आदानप्रदान गरे।
सो अवसरमा उपराष्ट्रपति पुनले युन्नान प्रान्तले आर्थिक विकासमा गरेको अप्रत्यासित उपलब्धिको प्रशंसा गर्दै व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न चाइना साउथ एसिया एक्सपो आयोजना गरेकोमा प्रान्तीय सरकारलाई धन्यवाद दिएका थिए।
उपराष्ट्रपति पुनले युन्नानका व्यवसायीलाई नेपालमा ऊर्जा र पूर्वाधारमा लगानी गर्न आमन्त्रण पनि गरे।
उनले संविधान जारी भएपछि नेपालमा लागानीमैत्री वातावरण बनेको पनि उल्लेख गरे। साथै उनले चीनले नेपालमा शान्ति प्रक्रियामा सहयोग गर्नका साथै गत वर्ष भूकम्पपश्चात् तत्काल सहायता पुर्याएको पनि उल्लेख गरे।
गभर्नर चेनले चीन सरकारले उहाँको भ्रमणलाई उच्च महत्व दिएको बताउँदै युन्नानले नेपालसँग ऊर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आपसी लाभका लागि सहयोग गर्न चाहेको बताए।
दुवै पक्षले बेल्ट एण्ड रोड पहलकदमीमा सँगै काम गर्न र आपसी सम्बन्धका अन्य सम्भावना खोजी गर्ने कुरामा जोड दिएका थिए । भेटपछि उपराष्ट्रपति र नेपाली टोलीको सम्मानमा दिवा भोजको आयोजना गरिएको थियो ।
शनिबारै, नेपाली टोलीले युन्नानको ऊर्जा लगानी समूहको भ्रमण गरेको थियो भने कम्पनीले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तीव्र इच्छा जाहेर गरेको थियो । उपराष्ट्रपति पुन शुक्रबार साँझ कुन्मिङ आइपुगेका थिए। उनले आज कुन्मिङमा चाइना साउथ एसिया एक्सपोको उद्घाटनलगायतका कार्यक्रममा सम्बोधन गर्ने बेइजिङस्थित नेपाली राजदूतावासले एक विज्ञिप्त प्रकाशित गरी जनाएको छ। त्यसपछि उनीसँग चीनका उपप्रधानमन्त्री वाङ याङले पनि भेट गर्ने कार्यक्रम छ।
उपराष्ट्रपतिसँगै उनकी पत्नी हस्तमाली पुनमगर, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उनका स्वकीय सचिव शुकबहादुर रोका, चीनका लागि कार्यबाहक राजदूत निर्मलराज काफ्ले र उपराष्ट्र्रपतिका प्रेस संयोजक मनोज घर्तीसहितको चौध सदस्यीय टोली रहेको छ। रासस