अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्ना दिवंगत कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झनामा एन्फा परिसरमा सालिक निर्माण गरेको छ।
एन्फाले तत्कालीन कार्यवाहक अध्यक्ष श्रेष्ठले फुटबल खेलको विकासमा पुर्याएको योगदानको सम्झनास्वरुप श्रेष्ठको आधा कदको सालिक निर्माण गरेको हो। श्रेष्ठको गत वर्षको जेठ ३० गते ललितपुरको भैंसेपाटीस्थित घरमा करेन्ट लागेर ४९ वर्षको उमेरमा निधन भएको थियो।
एन्फाले निधनको एक वर्ष पुगेको अवसर पारेर श्रेष्ठको सालिक अनावरण गरेको हो। श्रेष्ठकी आमा नानुले शनिबार एक समारोहबीच सालिक अनावरण गरिन्। कार्यक्रममा एन्फाका पदाधिकारी र श्रेष्ठका आफन्तजन तथा शुभेच्छुकहरुको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरुले सालिकमा मार्ल्यापण गरेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरे। एन्फाका निलम्बित अध्यक्ष गणेश थापा पनि श्रेष्ठको सालिकमा माल्यार्पणका लागि एन्फा कम्प्लेक्स पुगेका थिए।
थापामाथि भ्रष्ट्राचारको अभियोग लागेपछि श्रेष्ठले २०७१ सालको कात्तिक महिनादेखि एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। एन्फामा लामो समयदेखि विभिन्न पद्को अनुभव संगालेका श्रेष्ठ थ्रीस्टार क्लबको अध्यक्ष समेत थिए। श्रेष्ठले फुटबलको विकासमा पुर्याएको योगदानस्वरुप एन्फाले श्रेष्ठको परिवारलाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
एन्फाले श्रेष्ठकै स्मृतिमा १८ वर्षमुनीको फुटबल प्रतियोगिता आयोजना गरेको छ। शनिबार सुरु भएको प्रतियोगीतामा थ्रीस्टार, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल पुलिस, जावलाखेल थुथ लगायतका १२ वटा क्लब सहभागी छन्। प्रतियोगीता असार ११ गतेसम्म सञ्चालन हुने छ।