साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२/०७३ मा ६५० परेको छ जुन आव ०७१/०७२ का तुलनामा दोब्बरभन्दा बढी हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिए। उनले भने, ‘साइबर अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।’
फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई र सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
महाशाखामा परेको चालु आवमा हालसम्म परेका उजुरीमध्ये २० उजुरीमा मुद्दा चलाइसकिएको रायले बताए।
महाशाखाका प्रवक्ता सहकुल थापाले दैनिक सातदेखि दश उजुरी महाशाखामा पर्ने गरेको जानकारी दिँदै साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्राविधिक एकाइको आवश्यकता अत्यन्त जरुरी रहेको बताए। रासस