एनसेलको टावरमा आगजनी गरेको आरोपमा दाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
एनसेलको टावरमा आगजनी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दाङको देउखुरी निवासी पूर्ण खनाल र देउखुरीकै यमलाल पुजाली रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम खड्काले जानकारी दिए।
दुई मध्ये खनाललाई आइतवार साँझ र पुजालीलाई सोमवार विहानमात्रै पक्राउ गरिएको खड्काले बताए। पक्राउ परेकाहरु आगजनी गर्ने कार्यमा संलग्न भए नभएको वारेमा अनुसन्धान जारी रहेको खड्काले बताए।
तर, विप्लव माओवादीका दाङ जिल्ला सक्रेटरी सितलले भने पक्राउ परेका दुबै जना निर्दोष रहेको दाबी गरेका छन्। आफ्ना कार्यकर्तालाई प्रहरीले अनाहकमा दुःख दिने नियत राखेको उनले आरोप लगाए।
पक्राउ परेका दुबै जनालाई तत्काल रिहा गर्न उनले माग पनि गरे। उनले एनेसलको टावर आगजनीमा आफ्नो पार्टीको कुनै हात नभएको दाबी गरे। केहीदिन अघि दाङका विभिन्न स्थानमा रहेका एनसेलका चारवटा टावरमा आगजनी भएको थियो।