भारतबाट नेपाल छिर्ने जंगली हात्तीले वर्षौंदेखि मानवीय तथा भौतिक क्षति गरेपछि त्यसलाई रोक्न नेपालले झापामा लगाएको सौर्य तारबारबारे भारतले चासो देखाएको छ। वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा नेपालले एकतर्फी तारबार लगाएको भन्दै पश्चिम बंगालका वनमन्त्री विनयकृष्ण बर्मनले नेपाललाई उक्त तारबार हटाउन चिठी पठाइसकेको बताएका छन्।
बर्मनले शनिबार दार्जिलिङमा वन अधिकृतहरूसँग उक्त तारबार नेपालले अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा लगाएको भन्दै हटाउन पत्र पठाइएको बताएका थिए। ‘हामीले तारबार हटाउन नेपाल सरकारलाई चिठ्ठी लेखिसकेका छौं,’ बर्मनलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
वन विभागका महानिर्देशक गौरीशंकर तिमलाका अनुसार भारतले त्यस्तो किसिमको चिठी पठाएको छैन। ‘हामीलाई त्यस्तो कुनै चिठी आएको छैन,’ तिमलाले भने। उनका अनुसार क्षेत्रीय स्तरको ‘ट्रान्स बाउन्डरिङ’ मिटिङमा यस्ता कुरा छलफल हुनसक्छन्।
स्थानीय जनताले दुःख पाएको भन्दै नेपालले इलामको जिर्मले गाविसदेखि मेचीनगर नगरपालिका–१० काँकडभिट्टासम्म १८ किलोमिटर क्षेत्रमा सौर्य तारबार लगाएको थियो। जनताकै बीचबाट यस्तो धारणा आएपछि उक्त क्षेत्रमा सरकारले निर्माण गरेको सौर्य तारबार दुई महिना अगाडिबाट सञ्चालनमा आएको हो।
बाहुनडाँगीमा जंगली हात्तीका आक्रमणबाट डेढ दर्जन मानिसको ज्यान गइसकेको छ। दिनहुँजसो आउने हात्तीले बालीनाली सखाप पारेपछि स्थानीय हैरान थिए। ‘घरबारै छोडेको त छैन तर हात्तीले एकदमै क्षति गरेको अवस्था हो,’ प्रकृति संरक्षण समाजका संस्थापक अध्यक्ष अर्जुन कार्कीले सेतोपाटीसँग भने, ‘वैशाख महिनादेखि यो तारबार सञ्चालनमा आएको हो।’
तिमलाले पनि ‘जसलाई रोग लाग्छ, उसैले उपचार गर्ने हो’ भन्दै स्थानीयको सुरक्षाका लागि तारबार लगाइएको बताए। ‘बाहुनडाँगीको बाटो भएर लामो समयदेखि हात्तीले जनधनको क्षति गरेकाले विश्व बैंकको सहयोगमा हामीले तारबार लगाएका हौं,’ उनले भने, ‘सिमा क्षेत्रको कुन ठाउँमा, कति क्षेत्रफलमा यस्तो राख्न हुने–नहुने भन्ने विषयमा विज्ञले भन्लान्।’
बोर्डरमा पूरै तारबार लगाइएको नभएर हात्ती पस्ने बाटोमात्र बन्द गरिएको उनले बताए। ‘हिँडडुल गर्न माथिबाट प्रशस्त ठाउँ छ, जंगल छ,’ उनले भने, ‘हामीले पस्ने बाटोमात्र बन्द गरिदिएका हौं।’
हात्तीले दुःख दिन थालेको वर्षौंपछि सन् २०१२ मा सौर्य तारबार लगाउने कुरा उठेको थियो। सन् २०१४ मै सक्नुपर्ने गरी प्रस्ताव पठाइए पनि २०१६ मा आइपुग्दा बल्ल निर्माण सकिएको थियो। विश्व बैंकको १ करोड ५० लाख अनुदान सहयोगमा यो तारबार बनेको हो। तत्कालीन वनमन्त्री महेश आचार्यले तारबार शिलान्यास गरेका थिए।
इलाम जिर्मले गाविसदेखि काँकडभिट्टासम्मको बस्तीक्षेत्रमा तारबार छ। बस्तीमा सोझै हात्ती पस्न नपाओस् भनेर तारबार लगाइएको नेपालस्थित अधिकारीले जनाएका छन्। ‘यो तारबारमा करेन्ट प्रवाह हुन्छ, हात्ती आए करेन्टले लडाउँछ,’ कार्कीले भने, ‘अहिले हात्ती आउने क्रम रोकिएको छ। यसको स्थायित्व कति पाउँछ भन्ने चाहिँ प्रमुख कुरा हो।’
उनका अनुसार यो तारबारले भारतीय जंगलबाट नेपाल छिर्ने वन्यजन्तुको प्रमुख ‘करिडोर’ भने ‘ब्लक’ गरिदिएको छ। ‘करिडोरै बन्द गर्नु वन्यजन्तुप्रति अपराध हुन आउँछ,’ उनले भने, ‘हात्तीबाट बच्ने उपाय सोच्नुपर्थ्यो, तर तारबार लगाइसकेपछि यसैको स्थायित्व खोज्नुपर्छ।’
जिल्ला वन कार्यालयका अनुसार १८ किलोमिटर क्षेत्रमा लगाइएको तारबारमा २५ वटा गेट राखिएको छ। दिउँसो ती गेट खोल्ने गरिएको छ। जिल्ला वन अधिकृत बोधराज सुवेदीले आवादी क्षेत्रमा नेपालले तारबार लगाएको बताए। ‘हामीले जंगलमा तारबार लगाएका छैनौं, आवादी क्षेत्रमा मात्र लगाएका हौं,’ सुवेदीले भने, ‘मान्छे र बालीनाली जोगाउने तारबार लगाइएको हो।’
तारबार लगाइएको सिधा पूर्व भारततिर जंगल छ। जंगलतिर हिँडडुल गर्ने ‘करिडोर’ खुला राखिएको छ। ‘हात्ती सिधा मानव बस्तीमा नआओस् भनेर तारबार लगाएका हौं, हामीले करिडोर पूरै बन्द गरेका छैनौं,’ सुवेदीले भने, ‘हात्ती बचाउने नै नियत हो हाम्रो, यसमा बखेडा गर्नुपर्ने जरुरी छैन।’
उनका अनुसार पहिले नेपाल–भारत दुवैतिर हात्तीले नोक्सान गर्थ्यो। नेपाल छिर्ने क्षेत्र बन्देज भएपछि एकतर्फी भारततिर क्षति भइरहेको देखेर भारतले विरोध गरेको हुनसक्छ। ‘पहिले मान्छे मर्दा कुरा उठेन, अहिले रोकिएपछि किन कुरा उठ्यो थाहा भएन,’ उनले भने।
नेपालस्थित अधिकारीका अनुसार आसाम ब्रह्मपुत्र हुँदै भारतीय हात्ती नेपाल आउँछ। भारततिर जय गाउँछेऊको जंगलमा हात्तीको संरक्षित क्षेत्र छ। ‘हात्ती आफैं आएको हैन, संरक्षित क्षेत्रबाट छाडिएका हात्ती नेपाल आएका हुन्,’ एक अधिकारीले भने, ‘उताबाट छाडिदिएको हात्ती मेची खोला तरेर नेपाल आउने हो।’ ।
बाहुनडाँगीमा हात्ती समस्या २०२५ सालदेखिको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले नेपालले आफ्नो भूमिमा तारबार लगाएको विषयमा भारतले चासो देखाउनुपर्ने कारण नरहेको बताए। ‘दसगजामा लगाएको भए विरोध गरेको अर्थ रहन्थ्यो,’ उनले भने, ‘उताका हात्तीले यताका मान्छे मार्दा भारतलाई नदुख्ने, अहिले तारबार लगायो भनेर किन चित्त दुखाइ?’