कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाको स्थलगत अनुगमन आयोगको उपक्षेत्रीय कार्यालय बुटवलबाट तत्कालै शुरु भएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्न भनिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुलाई आवश्यक अनुसन्धान पश्चात कानून बमोजिम तत्काल कारबाही गर्न आयोगले माग गरेको छ। साथै पीडितको सम्पूर्ण औषधि उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन आयोगले सरकारसित आग्रह गरेको छ।
आयोगले उक्त घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पत्राचार समेत गरेको छ । सो घटनाको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ।