प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै मुलुकमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले बिहिवार बालुवाटारस्थित आफ्नै निवासमा लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौं सभा राखेर गुणस्तरका हिसाबले विश्वका जुनसुकै मुलुकमा पनि बिक्न सक्ने जनशक्ति उत्पादन गर्न आग्रह गरेका हुन्। उनले विश्वविद्यालयहरुले बेरोजगार उत्पादन गर्ने परम्परा अन्त्यका लागि गुणस्तरमा गम्भीर ध्यान दिनुपर्ने बताए। उनले विश्वविद्यालयहरुले प्रमाणपत्र वितरण गर्नेमा भन्दा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने र जीविका चलाउनका लागि सिर्जनशील बनाउनतिर ध्यान केन्द्रीत गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए। उनले बुद्धको जन्मथलोमा बुद्ध सम्बन्धी जानकारी नहुनु मनासिब नहुने भन्दै बुद्धले दिन खोजेका सन्देशबारेमा विश्वविद्यालयले ठूलो समूहलाई शिक्षा दिनुपर्ने बताए।