नेकपा एमाले केन्द्रीय सदस्य तथा संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले अहिलेको परिस्थितिमा सहमतीय सरकार गठन हुन नसक्ने बताएका छन्।
अनेरास्ववियु जिल्ला कमिटी इलामको २२औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अधिकारीले नेपाली काँग्रेसका कारण सहमतीय सरकार बन्न नसक्ने बताएका हुन्।
उनले संविधान सहमतिमा जारी भएको तर भारतले गरेको नाकाबन्दीको बेला सहमतिबाट नेपाली काँग्रेस भाग्नु नाकाबन्दीको अघोषित समर्थन ठहर भएको बताए।
काँग्रेसले आत्मनिर्णय गर्न नसक्दा सहमतीय सरकार गठनमा चुनौती रहेको अधिकारीले जिकिर गर्दै अझै पनि एमाले सहमतीय सरकारकै पक्षमा रहेको बताए। सभापति अधिकारीले सरकारले उत्तर दक्षिण राजमार्ग बनाई दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यापार बढाउन चाहेको बताए।
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाले १० वर्षअघिदेखि अनेरास्ववियुले उठाउँदै आएको शैक्षिक प्रमाणपत्र धितो राखेर व्यावसायिक ऋण पाउनुपर्छ भन्ने मुद्दालाई शिक्षा विधेयक र बजेटले सम्बोधन गरेकाले बेरोजगारी समस्यामा सु्धार आउने बताइन्।
अवको विद्यार्थी आन्दोलन टायर बाल्ने, सडक बन्द गर्ने नभएर शान्तिको आन्दोलनका लागि प्रतिबद्ध रहने उनको भनार्इ छ। रासस