नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता पौडेलले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फीरुपमा संविधान कार्यान्वयनको कार्ययोजना बनाएर प्रधानमन्त्री ओलीले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए। उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति चाहिनेमा प्रधानमन्त्री ओलीले अविश्वास बढाएर मुलुकलाई संकटमा पार्न खोजेको आरोप समेत लगाए। उनले प्रमुख दल र आन्दोलनरत दलबीचको एकता मुलुकको अहिलेको आवश्यकता भएको भन्दै सरकारले कार्ययोजना सार्वजनिक गरेका आधारमा संविधान कार्यान्वयन हुन नसक्ने बताए।
काँग्रेस नेता पौडेलले सरकार र आन्दोलनकारी मधेशवादी दलबीच वार्ता गराएर समस्याको निकास खोज्न सबैभन्दा ठूलो पार्टीको नाताले काँग्रेसले भूमिका खेल्नुपर्ने भन्दै त्यो भूमिका निर्वाह गर्न पार्टी सभापति देउवा असफल भएको आरोप लगाए। कार्यक्रममा काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन नभए त्यसको जिम्मेवारी काँग्रेसले लिनुपर्ने बताए।
उनले आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनका लागि काँग्रेसले सरकारलाई सही बाटोमा हिंडाउन सक्नुपर्ने अन्यथा सरकारमाथि दोष थोपरेर काँग्रेस उम्किन नपाउने बताए।
कार्यक्रममा कांग्रेसका अर्जुनरसिंह केसी, पूर्णबहादुर खड्का लगायतका नेताहरुले मधेशवादी दलले उठाएका माग सम्बोधन नगरी संविधान कार्यान्वयन हुन नसक्ने भन्दै सरकारले माग सम्बोधनका लागि गम्भिरता नदेखाउनु रहस्यपूर्ण भएको बताए।