फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्।
शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। उनीहरुले विभिन्न विदेशीका नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए।
भट्टराई र हकले फेसबुक आइडीमार्फत सर्वसाधारणलाई साथी बनाउने गरेका थिए। त्यसपछि कुनै विदेशी कम्पनीका नाम भन्दै चिठ्ठा परेकाले बैंक खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए।
उनीहरुले लक्की ड्रमार्फत तपार्इंलाई ठूलो परिमाणमा रकम तथा विभिन्न उपहार परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए।
एक महिनाअघि उनीहरुले बिर्तामोडकै एक व्यक्तिलाई चिठ्ठा परेको छ भन्दै ठगी गर्न खोजेपछि प्रहरीले उनीहरुको खोजी कार्य सुरु गरेको थियो। पक्राउ परेकामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थापाले बताए।रासस