सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल मोरङले विराटनगरमा मंगलबार गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्ता राईले तोकिएको समयभित्र संविधानले दिएको अभिभारा पूरा गर्न सरकारले कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए।
उनले आगामी २०७४ माघ ७ गतेभित्रै अभिभारा पूरा गर्न आगामी मङ्सिरमा स्थानीय निकाय, त्यसपछि प्रादेशिक र सङ्घीय निर्वाचन गराउन सरकार दृढ सङ्कल्पित रहेको स्पष्ट पारे। उनले निश्चित समयमै सरकारले ऐनकानुनको निर्माण, संशोधनका साथै संवैधानिक आयोग लगायत संरचना निर्माण गर्ने जानकारी दिए।
उनले भने,‘संसदीय समिति, संसदीय विशेष समिति गठनको प्रक्रिया सुरु भइसकेकाले मुलुकमा अब राष्ट्रिय बसहमतिको आधार तयार भएको छ।’
संविधानको पुनःलेखनलाई ‘बटमलाइन’ नबनाउन मोर्चालाई आग्रह गर्दै उनले मुलुकलाई समाधान दिनेतर्फ अग्रसर हुन सबैलाई आग्रह गरे। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अधिकांश माग पूरा भइसकेको बताउँदै मन्त्री राईले मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार लगायत विषयमा सरकारले मोटो रकम उपलब्ध गराएको र मागअनुरुप संविधानको संशोधनका साथै अन्य समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक समिति पनि गठन गरेको उल्लेख गरे।
उनले मोर्चालाई दुई पटक पत्राचार गरेपछि यतिखेर मोर्चा वार्ताका लागि तयार भएकामा यसलाई सरकारले स्वागत गरेको जानकारी दिए। रासस