आकाशमा बादल मडारिन थालेपछि धरान-१३ का ६९ वर्षीय शेरबहादुर मगरको मन पनि मडारिन थाल्छ। बर्खा सुरू भएपछि आकाशतिर हेर्छन्। आकाशमा बादल कालोनिलो हुँदै आएपछि उनको मन पनि उसरी नै कालोनिलो हुन थाल्छ।
त्यही बर्खाले उनको सर्बश्व छिन्यो। २०३८ सालमा निर्माण गरेको दुई वटा काठे घर पहिरोले पुर्यो। दिउँसै आएको पहिरोका कारण मानवीय क्षति भने भएन। तर, करिब साढे तीन लाख रुपैयाँ जति क्षति गरायो। पहिरोका कारण घरमा भएको मालसामान निकाल्न उनलाई झन्डै ६ महिना लाग्यो ।
२०७१ साउन १९ गतेको पहिरोले मगरको बास डेरामा सार्यो।
अहिले उनी जग्गाकै छेउमा बनाएको छाप्रोले काम चलाउँदै छन्। बर्खा उनको लागि चिन्ता बन्छ। हरेक बर्खाले उनको खुसी छिन्छ। मनसुनले किसानहरूलाई खुसी छर्दा उनलाई भने कहर बनिदिन्छ।
बर्खाको पानीले फेरि पहिरो झर्ला कि भन्ने डरले उनको मन पिरोलिन थाल्छ। त्यही पहिरोले हरेक वर्ष घर बनाउनको लागि सम्याएको जग्गासमेत पुरिदिने गरेको छ। हरेक वर्ष सम्याउँदा सम्याउँदै उनको एकतले घर बन्ने पैसा डोजर र पहिरो रोक्न निर्माण गरिने भित्तोले खाइदियो ।
‘पहिरो रोक्नको लागि धरान उप-महानगरपालिकाको ५० प्रतिशत सहयोगमा पर्खाल नबनाएका होइनन्। तर, फेरि माथिबाट अर्को पहिरो थपिएपछि अर्को पनि पर्खाल बनाउनु पर्यो,’ उनले।
त्यसमा पनि धरान उप-महानगरलाई गुहारे। तर, शेरबहादुरलाई कति सहयोग गर्ने भन्दै धरान उप-महानगरको भनाइले उनलाई थप पीडा भरिदिन्छ। भन्छन् ‘एकचोटी तलबाट पर्खाल लगाइयो माथिबाट झरिदियो। माथि पनि लगाउँदा भएको पैसा यसैमा सकियो। धरान उप-महानगरलाई भन्यो कति सहयोग गर्ने भन्छन्।’
पहिरो खसेकै साल उनले श्रीमती गुमाए। असार १५ गते श्रीमतीको निधनले शोकाकुल बनेका मगरले त्यसको एक महिना नबित्दै घर गुमाए। १३ महिनासम्म नजिकै डेरा लिएर बसे। तर, डेराको मूल्यसमेत बढ्ने भएपछि शरणार्थीझैं चौबिसे समाजको भवनमा केही महिना गुजारे। त्यहाँ पनि नभएपछि अहिले सिमेन्ट राख्नको लागि बनाइएको छाप्रोमा उनको बास छ। भन्छन्, ‘यही कटेरोले काम चलाइरहनु परेको छ। भएको दुईवटा घर पहिरोले गइगो। बनाउँला भन्दै खर्च गर्यो हरेक वर्षको पहिरोले पैसाजति सकिदियो।’
उनका अनुसार आठ पटक जति त पहिरोले पुरेको माटो फाल्न र घर बनाउने ठाउँमा सम्याउनको लागि डोजर नै लगाउनु पर्यो। अहिले फेरि घर बनाउने ठाउँ माटो थुप्रिएर उस्तै भएको छ। यो पटक उनी कम्मर कसेर घर बनाउन लागिपरेका थिए। तर, वैशाख १२ को विनाशकारी भुइँचालोले हल्लिएको माटो झारेपछि सपना चकनाचुर भइदियो। घर बनाउने साल गन्दागन्दै दुई वर्ष पुग्न लागिसकेको उनी बताउँछन्। भन्छन्, ‘घर बनाउँछु भन्नु पनि उखानै भइसक्यो।’ भएभरको पैसा पहिरो टाल्दाटाल्दै सकिसकेको उनी बताउँछन्।
उप-महानगरबाट दुई तले घर निर्माण गर्नको लागि घरनक्सा पाससमेत गरिसकेका थिए। पिलरको लागि खाल्डोसमेत खनिसकेका थिए। तर, अहिले त्यो खाल्डो पनि पुरिसकेको छ। तीन महिनाअघिदेखि सिमेन्ट राख्ने छाप्रोमा दैनिक जीवन धकेलिरहेका छन्। तीन जना छोरा केही मास्तिर बसेका छन्। छोरा विनोद भन्छन्, ‘पहिरो टाल्दाटाल्दै घर बनाउने सपना सपना नै बनिरहेको छ। पर्खाल बनाउँनै झन्डै १० लाख जति लाग्यो।’ फेरि बर्खा सुरू हुनै लाग्दा उनको परिवार ‘पहिरो नआओस्’ भन्दै कामना गरिरहेका छन् ।