१२ वर्षीया एक जना बालिकालाई सामूहिक करणी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले तीन जनालाई जनही तेह्र वर्ष कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलाशले तुलसीपुर नगरपालिका-१९ का १८ वर्षीय लक्ष्मण विक, तुलसीपुर-२० का १८ वर्षीय कमल विक र २३ वर्षीय विष्णु विकलाई जनही तेह्र वर्ष कैद सजायको फैसला सुनाएको हो।
तीनै जनालाई बलात्कार गरेकोमा आठ-आठ वर्ष र सामूहिक करणी गरेको प्रमाणित भएकोले थप पाँच वर्ष गरी जनही तेह्र वर्ष कैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए। अभियोग प्रमाणित भएकोले तीनै जना दोषीबाट जनही तीस हजारका दरले पीडितलाई क्षतिपूर्ति भराउने गरी फैसला भएको रानाले बताए।
२०७२ कात्तिक ७ गतेका दिन तुलसीपुरकी एक जना १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको जाहेरीसहित बालिकाका अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही किटानी जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। उनीहरू उक्त अभियोगमा दोषी भएको व्यहोरासहित जिल्ला अदालतमा प्रहरीमा मुद्दा दर्ता गरेको थियो।