सुनसरीको इटहरीस्थित टेंग्रा खोलाको किनारमा बोरामा हालेर गाडिएको अवस्थामा एक महिलाको शंकास्पद शव फेला परेको छ।
६५ वर्षिया बेचनी चौधरीको शव कुहिसकेको अवस्थामा बोरामा भेटिएको हो। उनलाई उनकै छोरा विजय चौधरीले बोरामा हालेर गाडेको प्रहरीले जनाएको छ। २८ वर्षिय कान्छा छोरा विजयले प्रहरीसामू आमा गाडेको स्वीकारेका छन्।
बेचनी चौधरी लामो समयदेखि क्यान्सर पीडित थिइन्। क्यान्सर लागेपनि उपचार गर्न उनको परिवारले सकेको थिएन। ‘बेचनीको शरीर कुहिएर किरा नै झर्ने गरेको थियो भन्ने कुरा परिवारले गरेको छ,’ डिएसपी ओम अधिकारीले भने, ‘रोगले थलिएकी बेचनीलाई उनको छोराले हातैले खोस्रेर गाडेको बताएको छ।’
अधिकारीका अनुसार विजयले आमाको मृत्यु भएपछि काजक्रिया गर्ने खर्च नभएका कारण गाडेको बताए। तर, प्रहरीले भने विश्वास गरेको छैन। अधिकारीले मारेर गाडेको वा मरेर गाडेको भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।
अत्यन्त विपन्न चौधरी परिवारले उपचार गर्न सकेको थिए । ‘कति स्याहार गर्ने भनेर मारेर फालेको पनि हुनसक्छ,’ अधिकारी भन्छन्, ‘मरेको भए सबैलाई भनेर गाड्नुपथ्र्यो भनेर भन्दा गल्ती भइहाल्यो भन्छ।’
शवलाई प्रहरीले अन्तिम संस्कारका लागि परिवार तथा आफन्तलाई जिम्मा दिएको छ। उक्त शव एक महिनाअघि नै गाडिएकोले दुर्गन्धित बनेको पाइएको थियो। यता विजयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।