हुन त यो अफ सिजन हो पर्यटन क्षेत्रको लागि । नेपालभर नै विदेशी तथा स्वदेशी पर्यटकहरु कमै मात्र घुमफिर गर्छन् । तर पनि जेठको शनिबार ताप्लेजुङको पाथिभरा देवीको मन्दिरमा राम्रै चहलपहल देखिन्थ्यो ।
नेपाल तथा भारतको समथर गर्मी ठाउँमा बस्नेहरुको लागि वर्षको एक पटक चिसो वातावरणमा प्राकृतिक मनोरम दृश्य हेर्दै पाथीभरा देवीको पुजा गरेर फर्किने यात्रा आफैमा रोमाञ्चक हुन्छ । ताप्लेजुङसम्म पुग्नको लागि इलाम, पाँचथर हुँदै जानुपर्छ । इलाम र पाँचथरमा पनि प्रशस्तै पर्यटकीय स्थलहरु छन् ।
मेची पहाडी पर्यटन विकास तथा प्रवद्र्धन समितिको आयोजनामा काठमाडौबाट अन्य पाँच जना र भारतको कोलकाता, सिक्किमका ९ जना गरी १५ जना पत्रकारहरु इलाममा भेला भएका थियौं । त्यसबाहेक हामीसँग टान, नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै नेपाल र भारतबाट केही पर्यटन व्यवशायीहरुसमेत थिए । इलाम, पाँचथरका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्दै ताप्लेजुङको फुङलिङ बजार पुगेर बास बस्यौं । भोलिपल्ट सुरु भयो पाथीभरासम्मको यात्रा ।
बाँदरे गाडीको यात्रा
पहाडी सडकको राजा नै मानिने ल्याण्ड रोभर हुईकियो । खाल्डाखुल्डी पनि उफ्रिँदै गुड्ने भएकोले यो गाडीलाई बाँदरे गाडी भनिन्छ । दोस्रो विश्वयुद्धताका चलेको गाडीको रुपमा यसलाई लिइन्छ ।
सुकेटार बिमानस्थलसम्मको आठ किलोमिटर पक्की सडकलाई बाइबाइ गर्दै कच्ची बाटोमा दौडन थालेको गाडी जब जब हिलोमा चिप्लेर फन्फनी घुम्न खोज्थ्यो । हिलो बाटोमा जोतिएर अघि बढिरहेको गाडीको चक्का बेला बेलामा फन्फनी घुम्दा
कहिले एकापट्टि पुरै कोल्टिन्थ्यो । कहिले गाडी फुत्त उफ्रिएर घुम्दै भिरमा गुल्टिने डरले सबैको सातो जान्थ्यो । नेपाल पर्यटन बोर्डका सुमन घिमिरे बेला बेलामा उत्रिएर हिड्न खोज्थे ।
हाम्रो गाडीमा त्यहीँका केही लिम्बु किशोरीहरु पनि चढेका थिए । तर हामी आत्तिएको देखेर उनीहरु मरीमरी हाँस्थे । ‘यो त केही पनि होइन, पछि यो बाटो झन् बिग्रन्छ,’ उनीहरु भन्थे ।
तल्लो फेदीदेखि माथ्लो फेदीसम्म
३७९४ मिटरको उचाइमा अवस्थित यो मन्दिर पुग्नको लागि तल्लो फेदी (ठूलो फेदी)बाट चार घण्टा बढी हिड्नुपर्छ । आधा उधी समय तेर्सो उकालो चढेर माथ्लो फेदी (सानो फेदी) पुगेपछि नाकै ठोक्किने ठाडो उकालो आउँछ ।
दुवै फेदीमा झण्डै एक दर्जन घरहरु छन् । सबै घरमा पसल छन् । त्यहाँ एउटा औषधी पसल र प्रहरी चौकी पनि छ । तर औषधी पसल प्रायः बन्द रहन्छ । केही होटल र लज छन् । तर ताप्लेजुङ बजारको भन्दा दोब्बर महँगो ।
सितिमिति नहिड्ने शहरीया जीवनशैलीका मानिसलाई पाथीभराको उकालो चढ्नु भनेको ठूलै युद्ध जितेसरह हुन्छ । बाटोमा कुनैपनि समय पानी दर्किन सक्छ, कुनैपनि समय घाम लाग्न सक्छ । कुहिरोले ढाकेर कुनै पनि समय सिउसिउ कमाउन सक्छ ।
पाथीभरा देवीको पुजा भने उकालो लागेसँगै सुरु हुन्छ । बाटो बाटोमा राखिएका मूर्ती, घण्टमा मानिसहरुले पैसा चढाएको देख्न पाइन्छ । असरल्ल छरिएका पैसाहरु कति त माटोमै वर्षौंदेखि गाडिएका छन् ।
मान्छे बोक्ने रेटः दुई सय रुपैया किलो
पाथीभरा मन्दिरसम्म पुग्न चढ्नुपर्ने चार पाँच घण्टाको उकालो जोकोहीको लागि सहज छैन । फेरी मौसमको प्रतिकुलता, त्यसमाथी सवारी साधनको लागि बाटो नै छैन । पर्यटन व्यवशायी कृष्णहरी खत्री भन्दै थिए, ‘यस्तो उकालोमा एक घण्टामा सात सय मिटर मात्र हिड्न सकिन्छ ।’
उकालो, ओह्रालो गर्न नसक्नेका लागि एउटा उपाय छ । त्यहाँ मानिस बोक्ने भरिया पाइन्छन् । जसले मानिसको शरीरको तौलअनुसारको पैसा लिन्छन् । दर रेट भने ‘अप एण्ड डाउन’ किलोको दुई सय रुपैया हो । यसरी मानिस बोक्ने भरीयाहरु तीन दर्जनको हाराहारीमा छन् र सबैले आलोपालो गरी मानिस बोक्छन् । एक जनाले मासिक तीस हजारको हाराहारी कमाउँछन् ।
आफै ६० केजी तौल भएका भरीयाहरुले त्यति नै किलोको भारी बोक्छन् । उनीहरुको अनुभवमा फिदिमभन्दा उत्तरका मानिसहरुलाई बोक्नु पर्दैन, उकालो चढ्न सक्छन् ।
बाटैभरी पैसा, तर कसैले टिप्दैन
मन्दिरसम्म पुग्दा धेरै पैसा बाटोमा भेटिन्छन् । मन्दिरको सुरक्षाको लागि न त सिसि क्यामेरा छ, न त सुरक्षा गार्ड नै । तर पनि पैसा कसैले लाँदैनन् । ‘पाथीभरा माता सम्झेर चढाएको पैसा कसैले लग्ने बित्तिकै उसलाई पनि र मलाई पनि सपनामा देखाइहाल्छ,’ मन्दिरका पुजारी भन्दै थिए, ‘पैसा लानेको राम्रो हुँदैन, त्यसैले कसैले टिप्दैन ।’
पुजारीले भनेकै जस्तो मान्यताले मात्रै पाथीभरामा चढाइएको पैसा आजका दिनसम्म सुरक्षित छ । दिनैपिच्छे बाटोभरीका सिक्का र पैसा उठाएर जम्मा गर्ने गरीएको पुजारी बताउँछन् । सिक्का पैसाहरु भने मन्दिरको लागि निकै ठूलो समस्या पर्ने गरेको छ ।
सिक्का पैसाको व्यवस्थापन र सटहीमा उक्त पैसाको ६० प्रतिशत रकम सकिने गरेको छ । ‘८ लाख पैसा जम्मा भएछ, तर त्यो साटेर जम्मा गर्न नै पाँच लाख खर्च लाग्यो,’ पुजारीले भने ।
सरसफाइ मुख्य समस्या
पाथीभराको उकालोमा मुख्य समस्या सरसफाइको देखिन्छ । चर्पीको राम्रो व्यवस्थापन छैन । मन्दिर वरपर पिउने पानी पाइँदैन । मन्दिरले पनि त्यसको व्यवस्थापन गर्न सकेको छैन । मन्दिरका पुजारी यसै विषयसँग जोडेर किस्सा सुनाउँछन्, ‘कसैलाई पानी चाहियो भने आँखा चिम्म गरेर हात थापेर एकछिन मनमनै पानी माग्दै बस्ने हो भने उसलाई पिउन चाहिने पानी पर्छ ।’
उकालोमा पैसा छरिएका भेटिन्छन् । ठाउँ ठाउँमा दान पेटिका राखिएपनि मानिसहरुले भने भुईमै पैसा चढाउने गरेका छन् । पैसासँगै बाटोभरी इनर्जि ड्रिन्क, पानी, फास्टफुडका बोतल, खोलहरु छरिएका छन् । फोहोर फाल्ने डस्टविन नराखिएका त होइनन् तर ती अपर्याप्त देखिन्छन् भने भएका डस्टविनलाई पनि प्रयोग गरिएको पाईदैन ।
मन्दिर पुगेपछि
पहाडको टुप्पोमा छ, पाथीभरा देवीको मन्दिर । त्यहाँ पुगेपछि उकालोको थकान मेटिन्छ । मन्दिरमा कुनैपनि मूर्तीको माथि छत वा ओत छैन ।
पाथीभरा मन्दिर धार्मिक हिसाबले जति महत्व रहेको छ प्राकृतिक सुन्दरता पनि त्यतिकै भरिपूर्ण छ । आकाश खुलेको समयमा पाथीभरा मन्दिरबाट पूर्वी नेपालका पाँच हिमश्रृंखलाको दृष्य अवलोकन गर्न पनि सकिन्छ । मन्दिर क्षेत्रबाट कुम्भकर्ण (७७१०मी.), कञ्चनजङ्घा (८५८६) मकालु (८४६३), लोत्से (८५१६) र नोत्से (७८५५) हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
पाथीभरा मन्दिरलाई नेपालमा मात्रै होइन, भारतका हिन्दू धर्मालम्वीहरुको पनि आस्थाको केन्द्रका रुपमा लिइने गरिन्छ । सडक र मौसमको प्रतिकुलताका बाबजुद पाथीभरा दर्शनका लागि बाह्य र आन्तरिक गरी वार्षिक २ लाख भक्तजन पुग्ने गरेका छन् ।
यसरी पुग्ने
हवाइमार्गवाट जानका लागि ताप्लेजुङको सुकेटारमा हवाइसेवा छ । विमानस्थलको रनवे भर्खरै पिच भएको छ । तर मौसमको खराबीका कारण हवाईसेवा भरपर्दो छैन । सडकमार्गबाट भने झापाको बिर्तामोड, इलाम, फिदिम हुँदै ताप्लेजुङ पुग्न सकिन्छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट अहिले तल्लो फेदी (ठूलो फेदी)सम्म यातायातको सुविधा छ । वर्षामा भने अलि सास्ती हुन्छ । मोटरसाइकल भने ठूलोफेदीसम्म जाँदैन । ढुंगाले छापेका बाटो र हिलोबाटोमा मोटरसाइकल कुदाउन खोज्नु भनेको सय केजीको भारी बोकेर कुद्नु जस्तै हुन्छ । अन्य होचा गाडी पनि गुड्दैनन् । होचा गाडी र मोटरसाइकलमा हुनुहुन्छ भने या त ल्याण्ड रोभर चढ्नुपर्छ, या त थप दुई–तीन घण्टा हिड्न तयार हुनुपर्छ ।
लगातार हिड्न सकिएन भने ठूलोफेदी वा अलि माथि पुगेर सानो फेदी (माथ्लो फेदी) मा पुगेर बास बसी सबेरै उकालो लाग्न सकिन्छ । बाटोमा लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी, गुराँस आदिको जंगल एवं मालिंगोघारीले स्वागत गर्छ । वैशाख जेठमा हो भने गुराँस फुलेको देखिन्छ भने कात्र्तिकदेखि वैशाखसम्म आकाश सफा भएर हिमालसमेत हेर्न सकिन्छ ।
बढ्दो पर्यटक
खराब बाटो, मौसमी प्रतिकुलताका बाबजुद ताप्लेजुङको पाथीभरामा पर्यटकको संख्या वर्षेनी बढ्दो छ सँगै मन्दिरको आम्दानी पनि बढ्दो छ । वैशाख, जेठ, असार, साउनजस्तो अफ सिजनमा पनि सरदर दैनिक एक लाख रुपैया संकलन भइरहेको छ । कात्र्तिकपछिको मौसममा त मन्दिरमा धेरै भीड हुने गर्छ । त्यो बेलामा हिमाल पनि खुल्छ र टाढा टाढासम्म स्पष्ट देखिन्छ ।
पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ । यसैगरी मंगलबार र शनिबार बढी भीड लाग्ने गर्छ । शनिबार र मङ्गलबार दैनिक एक हजार पाँच सय भन्दा बढी दर्शनार्थी पुग्ने गरेका छन् ।
त्यस क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी होटलमा करिब ३०० देखि ४०० मानिसका लागि मुस्किलले व्यवस्थापन गर्न सकिए पनि दैनिक सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थी पुगेपछि निकै समस्या हुने गरेको छ ।
नेपाल तथा भारतबाट हिन्दू धर्मावलम्बीहरु ठूलो संख्यामा ताप्लेजुङ पुगिरहेका छन् । ताप्लेजुङमै घर भएका मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्काले ताप्लेजुङमा सुविधासम्पन्न होटल तथा सडक सुविधामा राज्यले ध्यान दिनुपर्ने बताउँछन् ।
उत्पतिसम्बन्धी किम्बदन्ती
पाथीभराको उत्पत्तिका सम्बन्धमा धेरै किंवदन्ती रहेका छन् । श्रुतिअनुसार परापूर्वकालमा पाथीभरा डाँडाको फेदीमा गोठालाहरुले भेडीगोठ राखेका थिए । गोठमा राखिएका भेडाहरु अचानक लोप हुन थालेछन् ।
यसरी एकाएक भेडा लोप भएपछि आश्चार्य र चिन्तामा परेका गोठालाहरुलाई राति सपनामा देवीले आफ्नो उत्पति स्थल र आकृतिका बारेमा जानकारी दिँदै बलिसहित आफ्नो पूजा–अर्चना गर्नू भनेकाले भोलिपल्ट गोठालाहरुले सोही अनुसार पूजाआजा गरे र गोठमा भएमध्ये सबैभन्दा स्वस्थ र हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए ।
बलि दिएको भेडाको त्यहाँ रगत पनि देखिएन । बलि दिनासाथ हराएका भेडा जस्ताको तस्तै प्राप्त गरे ।
त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ ।
पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ ।
पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् ।
पर्यटन विकासमा हातेमालो
तीन जिल्लाको यात्रा अवधिभर पाँचथर सदरमुकाम फिदिमबाहेक सबै ठाउँमा गर्मीमा पनि अत्यन्त जाडो हुन्छ । यी तीन वटै जिल्लाका पर्यटकीय सम्भावनाको खोजी र विकास गर्नको लागि सरकारले बनाएको मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन समिति सक्रिय छ ।
एक हप्तासम्मको समय मिलाएर घुम्न आउनेहरुको लागि यी तीन जिल्लामा इलामको अन्तु र पाँचथरको सिलौटे डाँडाबाट देखिने सूर्योदयदेखि माइपोखरी, हिलिहाङ राजाको दरबार, छिनतापु, पौवा भञ्ज्याङ आदि ठाउँहरु घुम्न सकिन्छ ।
ट्रेकिङमा रुची हुनेहरु अलि लामै समय मिलाएर आउने हो भने हिमाल नजिकका थुप्रै मनोरम ठाउँहरु छन् । प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके प्रशस्तै भारतीय पर्यटकहरुलाई नेपाल ल्याउन सकिने समितिका कार्यकारी प्रमुख केशवकुमार धौराली बताउँछन् । त्यसका साथै चीनसँगको किमाथांका नाकालाई नेपाल सरकारले चासो दिएको छ । यो नाका खुलेमा चीनबाट सामानका साथै पर्यटकलाई समेत नेपाल ल्याउन सकिने सम्भावना छ ।
यही सम्भावनालाई देखेर नेपाल घुम्न आएका भारतीय पत्रकारहरु र नेपाली पत्रकारहरुले नेपाल–भारत पर्यटन पत्रकार संघ नै बनाएका छन् । नाकाबन्दीपछि नेपालमा भारत विरोधी भावना भएको भन्ने अफवाहका कारण भारतीयहरुहरु आउन हिच्किचाइरहेको बताउँदै मिलेर यस्ता हल्ला र अफवाह हटाउनुपर्ने भारतीय पत्रकारहरुको सल्लाह छ ।