सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले सडक बगाउँदा जुरेदिखि माथिको सडक अवरूद्ध भएको छ। गएराति चीनमा भिषण पानी परेपछि भोटेकोशी नदीमा ठूलो बाढी आएको हो। बाढीले जुरेमा खोलाको धार परिवर्तन गराएर सडकसमेत बगाएको छ। अहिले बैकल्पिक मार्ग बनाउने काम सुरू गरिएको छ।
	यस्तै बाढीले भोटेकोसी पावर हाउसमासमे क्षति पुगेको छ। भोटेकोसीको नदिले कटान र ठाउँठाउँको पहिरोका कारण कोदारी राजमार्ग अन्तर्गतको लामोसाँघुदेखि तातोपानीतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै झिर्पुस्थित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी (भोटेकोशी) पावर हाउसको ड्याममा ठूलो क्षति भएको छ।
	भोटेकोशी नदीमा ११ वर्ष यताकै ठूलो बाढी आएको हो। बाढीका कारण भोटेकोशी नदी नजिकका क्षेत्रमा बसोबास गर्ने सिन्धुपाल्चोकका स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। एक्कासी बाढी आएपछि स्थानीयबासीहरु त्रसित हुँदै सुरक्षित ठाउँ खोज्दै घर छोडेर निस्किएका छन्।  बाढीले इलाका प्रहरी कार्यालय बाह्रबिसेको आसपासको क्षेत्रमा क्षति पुर्याएको इप्रका बाह्रबिसेका प्रहरी हवलदार पुष्कर श्रेष्ठले जानकारी दिए।
	बाढीका कारण सिन्धुपाल्चोकका बाह्रबिसे, लामोसाँघु, खाडीचौर लगायतका क्षेत्र डुवानमा परेका छन्। चीनमा परेको अबिरल वर्षका कारण भोटेकोशीमा पानीको बहाव उच्च भएपछि डुवानमा परेका क्षेत्रका स्थानीयबासीहरुलाई सुरक्षित स्थानतर्फ सार्न आग्रह गरिएको श्रेष्ठले बताए। बाढी बस्तीमा पस्ने खतरा भएकाले बाह्रबिसे बजारका स्थानीयहरु पलाती र राम्चेमा सुरक्षित स्थान खोज्दै गएका छन्। बाढी आएपछि प्रहरी निरीक्षक राजु पाण्डेको नेतृत्वको प्रहरीको टोली उद्धारका लागि खटाइएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए। एसपी केसीले स्थानीयबासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए।
	उनले भने,‘पानीको सतह नदीमा निकै बढेकाले स्थानीयबासीहरुलाई जतिसक्यो चाँडो सुरक्षित स्थानमा जान आग्रह गरेका छौं। कोही विचल्लीमा परेको हुन सक्छन् त्यसैले उद्धारका लागि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई अलर्ट अवस्थामा राखेका छौं।’ यस्तै माङ्खाका स्थानीयबासीहरु पनि सुरक्षित स्थानतर्फ गएको  स्थानीय इन्द्रजित तिमिल्सिनाले बताए।