ओम अस्पतालमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारमा संलग्न एक चिकित्सकका अनुसार कोइरालाको स्वास्थ्यअवस्था धेरै नै सुधार देखिएको छ।
कोइरालाको होस पूरै खुलिसकेको भन्न नमिल्ने तर उनले आँखा खोल्ने मान्छे चिन्न थालेको डाक्टरले बताएका छन्। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले मान्छे चिन्न थालेका छन्। तिवारी कोइरालालाई भेट्न बिहान ७ बजे गएका थिए।
‘उहाँले आँखा खोल्नुभयो, मलाई देखेर रुनु भयो,’ तिवारीले सेतोपाटीसँग भने, ‘डाक्टरले भरतजी आउनुभो भनेर बोलाएपछि उहाँले टाउको हल्लाएर आँशु झार्नुभयो।’ कोइरालालाई दिइँदै आएको औषधिको मात्रा पनि घटाइएको छ।
पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी दिँदै अस्पतालले कोइरालाको स्वास्थ्यमा सुधारका संकेत देखापरेको जनाएको छ। अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा ब्लडप्रेसर सुधार छ। कोइरालाले शरीरका अंग चलाउन थालेका छन्।
‘छातीको एक्स–रे पनि सुधार भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पत्नी सुपात्राले बिहान भेट्दा कोइरालाले चिने र अाँशु झारेको कांग्रेस महासमिति सदस्य तथा भतिजा सिद्धार्थ कोइरालाले बताए। ‘मैले भेट्न पाइनँ तर काकीले बाहिर आएर हामीलाई एकदमै राम्रो रेस्पोन्स गरेको बताउनुभयो,’ उनले भने, ‘मलाई लाग्छ अब उहाँ क्रिटिकल कन्डिसनमा हुनुहुन्न।’
स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. लव जोशीले महामन्त्री कोइरालाले अहिले आँखा खोले। ‘चिन्नुभयो ? भन्दा टाउको हल्लाएको’ बताए।
औषधिको मात्रा घटाएर भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने उनले बताए। ‘यही अवस्था रहिरहे उहाँ एक दुई दिनमा स्वस्थ अवस्थामा फर्किन सक्नुहुन्हुछ,’ उनले भने।
जोशीले यस्तै अवस्थामा रहिरहे र स्वास्थ्यमा सुधार भइरहे बिहीबार साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने पनि बताए।