नेपाल प्रहरीले कपिलवस्तुको चन्द्रौटामा चार साता पहिले भएको बलात्कारको घटनामा दुई जनाभन्दा बढी संलग्न नदेखिएको बताएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शुक्रबार व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा प्राप्त प्रमाणका आधारमा बलात्कारमा दुई जनाभन्दा बढी दोषी नदेखिएको बताएका हुन्। समितिका ससदस्यहरुले बोल्न नसक्ने ३५ वर्षिय महिलाको बलात्कारमा चन्द्रौटास्थित विन्धवासिनी सशस्त्र प्रहरी गणका कम्तिमा १० जना प्रहरी संलग्न रहेको दाबी गर्दै सबैलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेकामा प्रहरी महानिरीक्षक अर्यालले विना प्रमाण कसैलाई पनि दोष लगाउन नमिल्ने बताए। उनले पीडित महिला बोल्न नसक्ने भएका कारण अनुसन्धानमा अप्ठेरो परेको पनि बताए।
गत जेठ ३० गते चन्द्रौटास्थित जबइ खोलामा भैंसी चराउन गएकी महिलाको विन्धवासिनी सशस्त्र प्रहरी गणका प्रहरीले बलात्कार गरेका थिए। बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले सहायक हवल्दार राजु थारू र जवान लोकराज अवस्थीलाई पक्राउ गरेको छ। अवस्थीले बयानका क्रममा बलात्कार गरेको स्वीकार गरिसकेको प्रहरी महानिरीक्षक अर्यालले बताए। बैठकमा गृहमन्त्री शक्ति बस्नेत र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले बलात्कारमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनेमा निश्चिन्त हुन सांसद्हरुसँग आग्रह गरे।
बलात्कारको अभियोग लागेका थारु र अवस्थीलाई शसस्त्र प्रहरीले निलम्बन गरिसकेको छ । समितिले भने बलात्कारमा थारु र अवस्थी वाहेक शसस्त्र प्रहरी गणका अरु प्रहरी पनि सामेल भएको आशंकासहित प्रहरीले गरेको अनुसन्धानलाई अपर्याप्त भन्दै मनोचिकित्सक समेत राखेर केन्द्रीय अनुगमन टोली गठन गरी भरपर्दो छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
बलात्कृत महिलाको काठमाडौंस्थित प्रसुती गृहमा उपचार भइरहेको छ। उनी पतिले छोडेकी महिला हुन् । उनका १८ वर्षिय छोरा रोजगारीका क्रममा भारतमा छन्।