प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकाय, प्रदेश वा केन्द्रको निर्वाचन एउटा दलको लागि नभएर सबै दलका लागि भएकाले सबैसँग परामर्श गरेर आफू अगाडि बढ्ने बताएका छन्। उनले संविधानले नै ७४ साल माघ ८ अगावै सबै निकायको निर्वाचनको कुरा गरेको हँुदा संसदमा रहेका सबै दलसँग परामर्श गरी जाने कुरामा कुनै भ्रम नराख्न आग्रह गरे।
व्यवस्थापिका संसदको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘एकलौटी गर्न खोजेको भनेर भ्रम नपरोस्। यस विषयमा औपचारिक अनौपचारिक छलफल सबै दलसँग भइरहेको छ।’
प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालय पार्टीको कार्यालयजस्तो भयो भन्ने आरोप लगाउने सांसदले त्यहाँ आएर हेर्न र बुझ्न आग्रह गरे। ‘अहिलेको सरकार र प्रधानमन्त्री के गर्न हुन्छ के हँुदैन भन्ने कुरामा स्पष्ट छ,’ उनले भने, ‘कुनै कुरा मिलाउन अर्थात जुन कुरा राजनीतिक तवरबाट गर्ने भनिएको छ, त्यसमा चिन्ता र शंका नगर्नुहोला।’
प्रधानमन्त्री ओलीले अरुको सहायता लिँदा नेपालले गरेका सम्झौताको परिधिभित्र रहेर नै विकास निर्माणको कार्यक्रम सञ्चालित हुने बताए। गरिबी निवारण कोषमार्फत कार्यक्रम सञ्चालन गैरसरकारी संस्थाबाट सञ्चालन गर्ने विषयमा सन् १८ सम्मपछि सहज हुने बताए।
भूकम्पपीडितका लागि राहत अनुदान दिने विषयमा सरकारले आफ्नो कार्यविधिमा परिमार्जन गरी अगाडि बढ्ने बताए। ५६ सामूहिक आवास निर्माण भइसकेको उनले बताए। जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न ११९ स्थानको पहिचान गरी ३१७ स्थानमा काम भइरहेको बताए।