सद्भावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकारबाट मुलुकलाई उन्मुक्ति दिलाउन तयार हुने जो सुकैलाई पनि मधेसी मोर्चा निसर्त समर्थन गर्न तयार रहेको स्पष्ट पारेका छन्।
आइतबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,‘ सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होईन र यो खेलमा हाम्रो चासो पनि छैन तर भावनात्मक रुपमा हाम्रा ६२ जना भन्दा बढीलाई गोली ठोकेर हत्या गर्ने, झुठा मुद्दा लगाउने, उपचार समेत नगराउने, बार्ताको नाटक गरिरहने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने र संघीयता विरोधी अभिब्यक्ति दिने प्रधानमन्त्रीबाट मुलुकलाई उन्मुक्ति दिन एक धक्का कसैलाई पनि समर्थन गर्न हामी तयार छौ।’
सुमनले थपे,‘हाँस्यकलाकार जस्ता प्रधानमन्त्रीबाट मुलुकलाई मुक्ती दिलाउनेलाई समर्थन गर्छौ तर हामी सरकारमा जाँदैनौ।’