नेपाल मेडिकल कलेज (एनएमसी) अत्तरखेलले तोकिएको मापदण्डबिनै स्नातकोत्तर तहमा रेडियोलोजी विषय पढाइरहेको छ।
गत वर्ष मेडिकल काउन्सिलले उसलाई रेडियोलोजी पढाउन दुई सिट अनुमति दिएको थियो। जबकि रेडियोलोजीमा स्नातकोत्तर पढाउनका लागि मापदण्ड भने एनएमसीले पुरा गरेको थिएन।
रेडियोलोजी पढाउनका लागि मेडिकल कलेजको अस्पतालमा ‘एमआरआई’ मेसिन अनिवार्य हुनुपर्ने मापदण्ड छ।
एनएमसीका अध्यक्ष भोला रिजालले भने पोहोरसाल एमआरआई मेसिन नभएकाले मेडिकल काउन्सिलले सिटै नदिएको बताउँदै विद्यार्थी भर्ना नै नलिएको दाबी गरे। जबकि, स्रोतले दिएको जानकारी अनुसार पोहोर सालदेखि एमआरआई मेसिनबिनै त्यहाँ रेडियोलोजी विषयको स्नातकोत्तर पढाइ भइरहेको छ।
रेडियोलोजीमा कहिलेदेखि एनएमसीले स्नातकोत्तर पढाइरहेको छ? भन्ने सेतोपाटीको प्रश्नमा रिजालले ‘यसै वर्षदेखि बल्ल सुरू गरेको’ जवाफ दिए।
पोहोरदेखि नै पढाउन सुरू गरेको स्मरण गराउँदा उनको जवाफ थियो, ‘पोहोर त कहाँ दियो त? हामीले एमआरआई मेसिन राखेको छैन भनेर दिएन नि। अहिले भने दिएको छ। एमआरआई मेसिन ल्यायौँ नि त।’
एनएमसी स्रोतका अनुसार पोहोर साल स्नातकोत्तरको रेडियोलोजी विभागमा दुई जना विद्यार्थीलाई भर्ना लिएको थियो।
एनएमसीकै गत वर्ष प्रकाशित वार्षिक म्यागेजिनमा स्नातकोत्तर तहको रेडियोलोजी कार्यक्रममा दुई विद्यार्थी रहेको उल्लेख छ।
हेर्नुहोस् चार्टमा

स्नातकोत्तर तहको विभागअनुसार विद्यार्थी लिष्टमा रेडियोलोजीका दुई विद्यार्थी डाक्टर रूमिला कायस्थ र निकिता राजभण्डारीको नाम पनि समावेश छ। यी दुई विद्यार्थी एमआरआई मेसिन नदेखेरै स्नातकोत्तर दोस्रो वर्षमा पुगिसके।
अध्यक्ष रिजालले जानकारी दिएअनुसार उक्त अस्पतालमा अहिले बल्ल एमआरआई मेसिन ल्याइएको छ।
एनएमसी अस्पताल स्रोतका अनुसार दुई महिना अघिमात्रै ल्याइएको मेसिन मेडिकल काउन्सिलको निरीक्षणमा देखाउनुबाहेक बिरामी जाँच्न प्रयोग गरिएको छैन।
एमआरआई गर्न आउने बिरामीलाई अस्पतालबाट सेवा सुरू गरिएको भए पनि शुल्क तोक्न र अन्य केही काम बाँकी भएकाले अझै केही दिनपछि आउन भनेर फर्काउने गरिएको छ।
यस संवाददाताले आफू बिरामी रहेको जनाउ दिँदै एमआरआईबारे जिज्ञासा राख्दा त्यहाँका कर्मचारीले तत्काल सञ्चालनमा नरहेको बताउँदै केही दिनपछि आउन सुझाए।
एनएमसीले ल्याएको उक्त मेसिन ०.३ टेस्लाको छ। जबकि, नेपालका अरु अस्पतालमा त्योभन्दा दस गुणा राम्रो ३ टेस्लाको एमआरआई मेसिन सञ्चालनमा छन्। टेस्ला जति बढी भयो एमआरआई रिपोर्ट त्यति नै स्पष्ट र राम्रो आउने डाक्टरहरू बताउँछन्। हामीले फोन उठाउने कर्मचारीसँग यो मेसिनका बारे सोधेका थियौँ।
‘३ टेस्लासम्म एमआरआई मेसीन काठमाडौंमै छ, हामीकहाँ उपलब्धभन्दा अन्तको धेरै राम्रो हुन्छ,’ अस्पतालका कर्मचारीले भने, ‘तपाईँलाई यहीँ जचाउन मन भए केही दिन पछि आउनु होला।’
एमआरआई मेसिन देखाएर पनि यो वर्ष एनएमसीले रेडियोलोजीमा एक सिटमात्रै भर्ना गर्ने अनुमति पाएको स्रोतले बतायो।
अध्यक्ष रिजालसँग रेडियोलोजीमा एनएमसीले पाएको सिट संख्या सोध्दा जवाफ दिएनन्। बरू राजेश किशोर श्रेष्ठसँग कुरा गर्न भने। तर श्रेष्ठले भने फोन उठाएनन्।
मेडिकल काउन्सिल अध्यक्ष धर्मकान्त बाँस्कोटाले भने एमआरआई मेसिन चाहिने बेला त्यस्ता मेसिन भएको ठाउँमा विद्यार्थीलाई पोष्टिङ गर्छु भनेर कलेजले भन्यो भने पनि सिट दिन सकिने बताए।
हुन त काउन्सिलले न्यूनतम विरामी संख्या पनि नपुग्ने यो कलेजलाई अघिल्ला वर्षहरुमा एमबिबिएसका लागि १ सय ५० सिट दिएको थियो।
कतिसम्म भने सिट संख्या निर्धारण गर्नु अघिको छड्के निरीक्षण जाँदा एनएमसीलाई पहिलै अनौपचारिक र गोप्य जानकारी काउन्सिल पदाधिकारीलेनै दिने गरेको स्रोतको दाबी छ।
काउन्सिलको निरीक्षण छल्न एनएमसीले नक्कली बिरामी र फ्याकल्टी समेत रातारात ल्याउने गर्थ्यो।
गत वर्ष भदौको २ र ३ गते मेडिकल काउन्सिलको टोली निरीक्षण आउँदै छ भन्ने थाहा पाएपछि एनएमसीले नक्कली बिरामी रातारात ल्याएको थियो।
उसले मातातिर्थतिरको एक बृद्धाश्रमबाट २४ जना बृद्धाहरुलाई ल्याएर अर्थो विभागमा राखेको सेतोपाटीले फेला पारेको थियो।
हेर्नुहोस् यो समाचार